मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको शान्तिपूर्ण मतदानबाट माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।
कुल मतदाता २६ हजार ४४ जना रहेको थारू समुदायको बाहुल्य भएको ग्रामथान गाउँपालिकामा मतदान भएको कुल ७१.३३ प्रतिशत मतमध्ये माओवादीका नमोनारायण माझी ६ हजार ९७९ मत पाएर विजयी भएका हुन् ।
निकतटम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदाले पाँच हजार ३३३ मत पाए । अर्का प्रतिस्पर्धी एमालेका तुलसी विश्वासले चार हजार १५० मत पाए । यसैगरी राप्रपाका दिनेश थान्दारले ५५५, रास्वपाका नवीनकुमार विश्वासले ४७५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४ मत पाएका छन् । एमालेबाट बागी बनेका स्वतन्त्र उम्मेदवार नमरायण चौधरीले १३० मत पाएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार नमोनारायण विजयी भएसँगै ग्रामथानमा कांग्रेसको विरासत तोडिएको छ । ग्रामथान निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटै वडाको १२ मतदानस्थलका २९ मतदान केन्द्रमा कुल १८ हजार ५७७ मत खसेको थियो ।
ग्रामथानमा एक स्वतन्त्रसहित जम्मा १६ जना उम्मेदवारले अध्यक्ष पदका लागि जित निकाल्न चुनावी प्रतिस्पर्धा गरेका थिए । ग्रामथानमा खासगरी माओवादी केन्द्र , एमाले र कांग्रेसका उम्मेदवारबिच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा भएको थियो ।