भिजिट भिसामा मानव तस्करी गरेको घटनामा तीनजना दोषी ठहर भएका छन् । एक वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले फैसला गरेको हो । जिल्ला न्यायाधीश रामप्रसाद शर्माको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।
स्रेस्तेदार रामु शर्माका अनुसार गीता शाह, अरुण दाहाल र सरोजकुमार यादवलाई दोषी ठहर गरिएको छ । शाहले विदेश जाने मान्छे खोज्ने गरेको अनुसन्धानले देखाएको थियो । दाहाल बिचौलिया र यादवले एयरपोर्टका कर्मचारीसँग सेटिङ मिलाई अध्यागमन कटाउने गरेको खुलेको थियो । दोषी ठहर भएकामाथि २६ मंसिरमा सजाय निर्धारण गरिने स्रेस्तेदार शर्माले बताए । मुद्दामा २२ जना प्रतिवादी रहेकोमा दुईजना फरार थिए । लक्ष्मी राई र रिता दमाईंको हकमा मुद्दा मुल्तबीमा राखिएको छ । सबै कर्मचारीले सफाइ पाएका छन् ।
कुवेत जान लागेका कौशिला मगर र लक्ष्मी राईको श्रम स्वीकृतिका कागजात शंकास्पद देखिएपछि यो विषयमा अनुसन्धान भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पत्राचार गरेपछि गत वर्ष १८ माघमा लिखत किर्ते र संगठित अपराधको मुद्दा दर्ता भएको थियो । दोषी ठहर भएकी गीता शाहले विदेश जाने मान्छे खोजेर ल्याउने र अरुण दाहालले पनि निश्चित रकम दिएर यादवमार्फत नक्कली श्रम स्वीकृति र प्रहरी रिपोर्टलगायत कागजातका आधारमा विमानस्थलका कर्मचारीसँग मिलेमतो गरी बाहिर पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । ट्राभल्समा काम गर्ने सिराहाका यादवले एयरपोर्टमा सेटिङ मिलाउने गरेका थिए ।
शाहले एजेन्टका रूपमा विभिन्न खाडी मुलुकमा जाने व्यक्तिलाई भिजिट भिसामा पठाउने भनी त्यस्ता व्यक्तिसँग सम्पर्क गर्ने गरेको अनुसन्धानले देखाएको थियो । साथै, बाहिर जान आवश्यक सरकारी कागजात उनले नक्कली बनाउन उनले अरुण दाहाललाई दिने गरेकोसमेत भेटिएको थियो । बाहिर जान लागेका व्यक्तिको पासपोर्टलगायत कागजात लिई त्यसअनुसार किर्ते कागज बनाइदिने जिम्मा उनले लिने गरेकी थिइन् ।
यसबापत उनले एकजनासँग एक हजार रुपैयाँसम्म लिने गरेको प्रहरीसामु उनले बताएकी थिइन् । दाहालले भने विभिन्न एजेन्टमार्फत आएका व्यक्तिहरूको नाममा र उनीहरूको कागजातका आधारमा श्रम स्वीकृति, प्रहरी रिपोर्ट, बैंक स्टेटमेन्टसमेतका किर्ते कागजात बनाइदिने गरेका थिए । यसबापत पुरुषबाट ५० हजार र महिलाबाट १८ हजारसम्म प्रतिव्यक्ति लिने गरेको अनुसन्धानबाट देखिएको थियो ।
यादवले भने अध्यागमनका कर्मचारीलाई यसरी नक्कली कागजात भएका व्यक्तिको नाम टिपाउने गरेका थिए । नाम टिपाएका व्यक्तिले सहजै अध्यागमन पार गर्थे । प्रहरीमा बयान गर्दा उनले नरवीर खड्कासँग सल्लाह गरेर नाम पठाई अध्यागमन पार गराउने गरेको बताएका थिए । खड्का अध्यागमनको सातौँ तहको कर्मचारी थिए । यादवले खड्काको ह्वाट्सएपमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको नामको सूची पठाउने गरेका थिए । यसक्रममा खड्कालाई उनले चार लाख रुपैयाँ लिएको यादवको भनाइ थियो ।
खड्काले भने यसरी मान्छे पठाएर आएको पैसा नजिकैको होटेलमा राख्न लगाउने गरेको र कार्यालय समयपछि लिने गरेको प्रहरीसामु बताएका थिए । खड्काले यस कार्यमा अन्य अध्यागमन अधिकृतको पनि संलग्नता रहेको मौकाको कागजमा खुलाएका थिए । प्रहरीसँग बयानका क्रममा एयरपोर्टनजिकैको होटेलकी कर्मचारीले पनि विभिन्न व्यक्तिले दिएको पैसा आफूले होटेलको काउन्टरमा राख्ने गरेको र पछि विमानस्थलका कर्मचारीहरूले लाने गरेको बताएकी थिइन् ।
यद्यपि, कर्मचारीहरूविरुद्ध प्रमाण नभेटिएको भन्दै सबैलाई सफाइ दिइएको छ । पैसा राख्ने, दिने, टिकट काट्ने, भिसाको प्रक्रिया मिलाइदिने, ट्राभल एजेन्सी सञ्चालकलगायतमाथि मुद्दा दर्ता भएकोमा उनीहरूले पनि सफाइ पाएका छन् । सफाइ पाउनेमा केदारबहादुर खड्का, कुशल बराल, पीताम्बर रिमाल, सुजन फागो लिम्बू, नरवीर खड्का, पदम लामा, मनोज तामाङ, शैलेन्द्र ढकाल, दिनेश ज्ञवाली, रवीन्द्र अर्याल, विनोद कार्की, ताराबहादुर कुँवर, विष्णुप्रसाद आचार्य, विकास डंगोल, रामप्रसाद भण्डारी, शैलेन्द्र ढकाल र विमल पौडेल छन् ।