मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा २५३ वटा मोटरसाइकल चोरी भएका छन् । जसमध्ये ४९ वटा मोटरसाइकल मात्र फेला परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मोटरसाइकल चोरी आरोपमा ७८ जना पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले मोटरसाइकल चोरीमा संलग्न भएकाविरुद्ध ५५ वटा मुद्दा दर्ता भएको बताए । प्रहरी तथ्यांकअनुसार मधेशमा सबैभन्दा बढी धनुषामा ९५ वटा मोटरसाइकल हराएकोमा १४ वटा फेला परेका छन् । १६ जनालाई पक्राउ गरेर नौजनामाथि मुद्दा दर्ता भएको छ । पर्सामा ८१ वटा मोटरसाइकल चोरी भएकामा १४ वटा फेला परेका छन् । १६ जनालाई पक्राउ गरेर नौजनामाथि मुद्दा दर्ता भएको सूचना अधिकारी बोहराले बताए ।
रौतहटमा १९ वटा चोरी भएकोमा तीनवटा मोटरसाइकल फेला परेका छन् । प्रहरीका अनुसार तीनजनामाथि मुद्दा दर्ता गरिएको छ । सर्लाहीमा १४ वटा मोटरसाइकल चोरी भएकामा चारवटा फेला परेका छन् । चोरीको आरोपमा पाँचजना पक्राउ भएका छन् । चारजनामाथि मुद्दा दर्ता भएको छ । बारामा १३ वटा मोटरसाइकल चोरी भएका छन् । जसमध्ये चारवटा फेला परेका छन् । ६ जना मोटरसाइकल चोर पक्राउ परेका छन् । पाँचजनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक बोहराले बताए ।
सिराहामा ११ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा फेला परेका छन् । चोरीको आरोपमा ६ जना पक्राउ भएका छन् । सप्तरीमा ११ वटा मोटरसाइकल चोरी भएकोमा पाँचवटा फेला परेका छन् । चोरी आरोपमा नौजना पक्राउ परेकामा पाँचजनामाथि मुद्दा दर्ता भएको छ । महोत्तरीमा नौवटा मोटरसाइकल चोरी भएका छन् । चोरी आरोपमा १७ जना पक्राउ परेका छन् । १३ जनामाथि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बोहराले बताए ।
मधेशमा गत आर्थिक वर्ष ०८०/८१ मा ७६९ मोटरसाइकल चोरी भएको थियो । हराएकामध्ये १८२ वटा मात्र फेला परेको प्रहरी तथ्यांकमा उल्लेख छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मोटरसाइकल चोरी आरोपमा १८७ जना पक्राउ परेका थिए । १२६ जनामाथि मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक बोहराले बताए । उनका अनुसार गत आवमा सबैभन्दा बढी पर्साबाट ३२९ वटा मोटरसाइकल चोरी भएका थिए । धनुषामा १४७, सर्लाही १३५, रौतहट ५४, सप्तरी ४३, सिराहा २४, महोत्तरी १८ र बारामा १७ वटा मोटरसाइकल चोरी भएको उनले बताए ।
ठुला सहरमा चोरीका घटना धेरै
भारतसँग सीमानजिक रहेको मधेश प्रदेशका ठुला सहर र जिल्लामा मोटरसाइकल चोरीका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी उपरीक्षक बोहराका अनुसार मधेशका ठुला सहरबाट पार्किङ गरेकै अवस्थामा मोटरसाइकल हराउने गरेको देखिएको छ । कार्यालय वा सडकमा जथाभावी पार्किङ गरिएका मात्र होइन, सुरक्षित स्थानमा राखिएका ठाउँबाट समेत मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको उनले बताए । प्रहरी कार्यालयका अनुसार सरकारी पार्किङ, निजी पार्किङ, सडक किनार पार्किङ र घरमै पार्किङ गरिरहेकै अवस्थामा पनि मोटरसाइकल चोरी हुने गरेका छन् ।
मोटरसाइकल चोरीमा संलग्नमध्ये अधिकांश व्यक्ति ग्यारेजमा काम गरेका तथा कतिपय कुलतमा लागेका र बारम्बार चोरी कार्यमै संलग्न व्यक्तिहरू रहेको भेटिएको छ । सवारीसाधन तोकिएको ठाउँमा पार्किङ गर्ने र लक गरेमा चोरीबाट बच्न सक्ने बोहराले बताए । उनले सकेसम्म मोटरसाइकल सिसिटिभीको निगरानी भएको स्थानमा पार्किङ गर्ने, लक गर्ने र यदि हराएमा जतिसक्दो छिटो प्रहरीलाई खबर गर्नुपर्ने बताए ।