नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डले एक अर्ब ४२ करोड लगानी गरेको छ। फिनफन्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने बताइएको छ ।
नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् । यसको लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने विश्वास लिइएको छ।
०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र फिनफन्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानीसँग सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ, फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, ‘फिनिस लगानीकर्ता भएकाले, हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरू विस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ।’
फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरूका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ।
‘डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले वर्ल्डलिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्नेछ। फिनफन्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिंकलाई सहयोग गर्न तत्पर छ,’ किल्पेलेइनले जोड दिए।
‘फिनफन्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले सहर र ग्रामीण भेगबिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ।’
वर्ल्डलिंकबारे देशकै सबैभन्दा ठुलो नेटवर्क प्रदायकसमेत रहेको वर्ल्डलिंकले पाँच हजारभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्दछ। कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी छ, नाै लाखभन्दा बढी घरपरिवारमा पहुँच प्रदान गर्दछ। कम्पनीले हाल नेपालको ७७ जिल्लामध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ।
वर्ल्डलिंक ठुलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवाप्रदायकमध्येको पहिलो र एक मात्र कम्पनी हो। कम्पनीले यसअघि नै ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट बिआइआई र डोल्मा इम्प्याक्ट फन्ड डिआइएफआइआईमार्फत विदेशी लगानी भित्र्याएको छ।
कम्पनी सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित भइसकेको छ। यसका साथै, कम्पनीले एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन एसोसीओमार्फत डिजिटल ट्रान्सफर्मेसन अवार्ड, कर्पोरेट एक्सिलेन्सी आइएसपी अवार्डलगायतका अवार्डहरू प्राप्त गरेको छ।
फिनफन्डबारे
फिनल्यान्ड सरकारको अधीनमा रहेको फिनफन्ड एक विकास क्षेत्रको लगानीकर्ता र प्रभाव पार्ने लगानीकर्ता हो। यसले दिगो भविष्य निर्माण गर्न र विश्वव्यापी विकास चुनौती समाधान गर्ने व्यवसायमा लगानी गरेर दिगो प्रभाव उत्पन्न गर्दछ।
फिनफन्डले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा सञ्चालित व्यवसायहरूलाई जोखिम पुँजी, दीर्घकालीन लगानी ऋण, मेजानाइन वित्तपोषण र विकासशील बजारहरूमा कसरी लगानी गर्ने भन्नेबारे विशेषज्ञता प्रदान गर्दछ। फिनफन्डले ओइसिडिडिएसीद्वारा परिभाषित विकासोन्मुख देशहरूमा मात्र लगानी गर्छ।
यसका परियोजनाहरू लाभदायक, सामाजिक र वातावरणीय रूपमा जिम्मेवार हुने र तिनीहरूको लक्षित देशहरूमा मापनयोग्य विकास प्रभावहरू उत्पादन गर्ने आशा गर्दछ।फिनफन्डले नवीकरणीय ऊर्जा, दिगो वन, दिगो कृषि, वित्तीय संस्था, डिजिटल पूर्वाधार र समाधानहरूजस्ता दिगो विकासका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा विशेष जोड दिन्छ ।