हिमालय एयरले पोखरा–ल्हासा उडान गर्ने

काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं उडान गर्न अनुमति माग्दै क्यानमा तालिका पेस

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

सञ्चालनमा आएको दुई वर्षपछि पर्यटकीय सहर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाली र चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले पोखराबाट तिब्बतको राजधानी ल्हासामा नियमित उडानको तयारी थालेको हो । हिमालयले १४४ सिट क्षमताको एयरबस ३१९ विमानबाट पोखरा–ल्हासा उडान गर्नेछ ।

डिसेम्बर अन्तिम वा जनवरी पहिलो साता पोखरा–ल्हासा उडान सुरु गर्ने हिमालयको तयारी छ । यसैअनुसार हिमालयले पोखराबाट ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि प्रक्रिया अगाडि बढाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) र सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सिएएसी)ले अनुमति दिनेबित्तिकै उडान सुरु हिमालयको गृहकार्य छ ।

हिमालयले पोखरा–ल्हासा उडान अनुमतिका लागि तालिका पेस गरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ल्हासा–पोखरा उडानका लागि ल्हासा गोंगर विमानस्थलबाट पनि अनुमति लिनुपर्ने हुन्छ । हिमालयले सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र पोखरा आएर रात्रि विशान गर्ने, मंगलबार पोखराबाट ल्हासा हुँदै काठमाडौं फर्किने गरी तालिका पेस गरेको छ ।

‘ल्हासाबाट अनुमति पाउनेबित्तिकै प्राधिकरणबाट अनुमति पाइहाल्छ, यताको कुनै समस्या रहेन,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘ल्हासा उडान सुरु भएपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेछ ।’

अहिलेसम्म पोखरा विमानस्थलमा ६ वटा चार्टर्डबाहेक नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । हिमालयले पोखरा–ल्हासा सेक्टरमा सम्भावना देखेरै उडान सुरु गर्न लागेको हो ।

क्यानले पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगम र हिमालयलाई पत्राचार नै गरेको थियो । निगमबाट अझै कुनै प्रतिक्रिया नआएको सहप्रवक्ता भुलले बताए । क्यानको विन्टर सेड्युलमा हिमालयले काठमाडौं–ल्हासा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान अनुमति पाएको छ । तर, यात्रु अभावले ल्हासा उडान नियमित छैन । अब नयाँ उडान तालिका स्वीकृत भएपछि सोमबार र मंगलबार काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं उडान गर्नेछ । बुधबार र शुक्रबार काठमाडौं–ल्हासा–काठमाडौं उडानको अनुमति मागेको छ । यसअघि एयर चाइनाले पनि ल्हासा–काठमाडौं उडान गथ्र्यो । तर, उसको पनि पछिल्लो समय उडान बन्द छ ।  हिमालय एयरलाइन्ससँग चारवटा जहाज छन् ।

सुझावित समाचार