विमानस्थलको इन्धन डिपो सार्न डिपिआर सम्झौता

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगम लिमिटेडको हवाई इन्धन डिपो स्थानान्तरणका लागि इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सी सेवा, पुल्चोकसँग विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्न सम्झौता भएको छ ।

निगमको हवाई इन्धन कार्यालय, सिनामंगल र पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा विभागबिच १ करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँ ७३ पैसामा डिपिआर निर्माण गर्ने सम्झौता भएको हो । निगमको सिनामंगल डिपो प्रमुख इन्जिनियर प्रदीप यादवका अनुसार बढीमा ६ महिनाभित्र डिपिआर तयार हुनेछ ।

त्रिभुवन विमानस्थलको दक्षिण–पश्चिमतर्फ रहेको हालको डिपो साँघुरो हुनुका साथै बिमानस्थल बिस्तार गुरुयोजना भित्रसमेत परेकाले स्थानान्तरण गर्न लागिएको हो । विमानस्थल विस्तार गुरुयोजनामा हालको डिपो ‘ट्याक्सी वे’ मा पर्ने भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले डिपो सार्न निगमलाई दुई वर्षदेखि ताकेता गरिरहेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डविपरीत ट्याक्सीवेको नजिकै सञ्चालित हालको डिपोलाई सार्न क्यानले पनि सचेत गराइरहेकाले निगम व्यवस्थापन नयाँ ठाउँमा कार्यालय राख्न तयार भएको हो । ‘त्रिभुवन विमानस्थल सञ्चालनमा देखिँदै आएको सुरक्षा सतर्कतालाई समेत ध्यानमा राख्दै डिपो सार्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न डिपिआर सम्झौता भएको हो,’ निगमको सिनामंगल हवाई इन्धन डिपो प्रमुख यादवले भने ।

२८ साउनमा बसेको मन्त्रिपरिषद्ले समेत डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । क्यानले विमानस्थलको उत्तर–पश्चिमतर्फ गुह्येश्वरी क्षेत्रमा ५० रोपनी जग्गा उपलब्ध गराएको र सोही ठाउँमा नयाँ डिपो निर्माण हुने यादवले जानकारी दिए । हाल पाँच हजार किलोलिटर मात्रै भण्डारण क्षमता रहेकोमा नयाँ डिपोमा १५ हजार किलोलिटर क्षमताको भण्डारणगृह राखिने उनले बताए । ‘बढ्दो हवाई उडानका कारण इन्धनको माग पनि बढिरहेको छ । त्यसैले स्टोरेज क्षमता वृद्धि गर्न पनि नयाँ ठाउँमा डिपो सार्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ,’ उनले भने ।

डिपिआर सम्झौताका लागि बुधबार आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले ५० वर्षदेखि पुल्चोक कलेजसँग डिपिआरको अनुभव भएको बताए । त्यस्तै, पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा विभाग प्रमुख नारायणप्रसाद गौतमले राष्ट्रिय गौरवका आयोजनाहरूको समेत डिपिआर गर्ने क्षमता संस्थानसँग भएकाले निगमको नयाँ डिपोको अध्ययन र डिजाइन गर्न कुनै समस्या नहुने बताए । 

See More On

सुझावित समाचार