शीर्ष स्थानमा अग्रता बढाउँदै पुलिस

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यू–१८ युथ लिगमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । लिगमा बुधबार प्राप्त जितसँगै पुलिसले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो । पुलिसले दोस्रो स्थानको एनआरटीमाथि ४ अंकको अग्रता लिएको छ । पुलिसले ११ खेलबाट २६ अंक बटुल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा पुलिसको जितमा कप्तान सुवास बामले दुई गोल गरेका थिए । सुवासले खेलको ११औँ मिनेटमा पुलिसलाई १–० को अग्रता दिलाएका थिए । खेलको ४५औँ मिनेटमा चिरन कार्कीले पुलिसलाई २–० को स्थितिमा राखे । यसअघि सुवासले पेनाल्टी चुकाएका थिए । 

खेलको ४७औँ मिनेटमा चर्च ब्वाइजले एक गोल गरेको थियो । चर्च ब्वाइजका लागि अनुज तामाङले गोल गरेका हुन् । खेलको ७२औँ मिनेटमा सुवासले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३–१ ले विजयी भयो । चर्च ब्वाइज १४ अंकसहित नवौँ स्थानमा छ ।

एनआरटीसँग सातदोबाटो पराजित 
दोस्रो स्थानमा रहेको न्युरोड टिम (एनआरटी)ले बुधबार भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई ३–० ले हराएको छ । जितसँगै ११ खेलमा २२ अंक जोडेको एनआरटी दोस्रो स्थानमा कायम छ । एनआरटीले पुलिससँग शीर्ष स्थानमा ४ अंकको दूरी राखेको छ ।

सातदोबाटो समान खेलबाट ४ अंकका साथ पुछारमा छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन इशान शाहले दुई तथा राजन बुढाले एक गोल गरे । 

See More On

सुझावित समाचार