पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानोगौचरनमा ल्याइएको छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू अस्पतालमा आई श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम छ।
अहिले सानोगौचरनमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ। सानोगौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिने उनी संविधान र कानुनका ज्ञाता थिए। ०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए।
नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ।