कमलामा बगेर बेपत्ता भएका तेस्रो बालक पनि मृत भेटिए

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

कार्तिक शुक्ल पूर्णिमाको मेला हेर्न गएका वेला तीन दिनअघि शुक्रबार सिराहाको कमला नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालक छुट्टाछुट्टै ठाउँमा मृत अवस्थामा भेटिएका छन्। 

महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र थापा कमान्डको गोताखोर टोलीले कर्जन्हा– १ उत्तरबाहिनी क्षेत्रबाट आइतबार बिहान पौने १० बजेतिर करिब १५ वर्षीय लक्ष्मण साहको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। प्रहरीका अनुसार मृतक साह मिर्चैया नगरपालिका– ५ का रामनाथ साहका छोरा हुन्।

साहसँगै नुहाउने क्रममा मध्याह्न १२ बजेतिर डुबेर बेपत्ता भएका मिर्चैया– ५ का विन्देश्वर मण्डलका छोरा करिब १६ वर्षीय रोशनकुमार मण्डलको शव भने त्यही दिन दिउँसो करिब २ बजेतिर पानीमा तैरिरहेको अवस्थामा उत्तरबाहिनी क्षेत्रमा भेटिएको थियो।

त्यस्तै, सिराहा नगरपालिका– ६ बसबिट्टास्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सिराहा नगरपालिका– १५ बुधौरा गाउँका करिब १४ वर्षीय अभिषेक यादवको शव हुलाकी सडकको कमला पुलदेखि करिब पाँच सय मिटर दक्षिण पानीमा तैरिरहेको अवस्थामा आइतबार बिहान फेला परेको छ। परिवार र आफन्तहरूले आइतबार बिहानदेखि ६–६ जनाको टोली बनाएर पूर्व–पश्चिम किनार हुँदै दक्षिणतर्फ खोजी गर्ने क्रममा कमला पुलको करिब पाँच सय मिटर दक्षिणपट्टि शव भेटिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

बसबिट्टा र उत्तरबाहिनी दुवै ठाउँमा शव भेटिएपछि जिल्ला प्रहरी र मातहतको प्रहरी युनिटबाट घटनास्थल पुगेको प्रहरीले घटनास्थल मुचुल्कासहितका आवश्यक प्रक्रिया पूरा गरी पोेस्टमार्टमका लागि यादवको शव प्रादेशिक अस्पताल सिराहा र साहको शव रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार