१९ वर्षपछि बक्सर टाइसन रिङमा उत्रँदै

५८ वर्षीय माइक टाइनसले शुक्रबार २७ वर्षका युवा बक्सर जाके पाउलविरुद्ध प्रतिस्पर्धा गर्दै

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

विश्वप्रसिद्ध बक्सर माइक टाइसनले शुक्रबार जाके पाउलविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । टाइसन १९ वर्षपछि रिङमा उत्रन लागेका हुन् । टाइसन र पाउलले प्रतिस्पर्धा गर्नुअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा जितबाहेक अरू विकल्प नभएको दाबी गरेका छन् । डालासको टी. एन्ड. टी. रंगशालामा ६० हजार दर्शकले टाइसनको खेल हेर्नेछन् । आयोजकका अनुसार रंगशाला हाउसफुल भएको छ । पूर्वविश्व हेभिवेट च्याम्पियन टाइसन अहिले ५८ वर्षका हुन् । 

सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय बक्सिङमा एकछत्र राज गरेका टाइसनलाई चुनौती दिएका पाउल २७ वर्षका छन् । टाइसनले आफूभन्दा ३१ वर्ष कान्छो युवा खेलाडीविरुद्ध पुरानै जोसमा प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले यसको झल्को पत्रकार सम्मेलनमा दिएका थिए । पाउलले प्रतिक्रिया दिइरहँदा टाइसनले उनको माइक्रोफोन खोसेका थिए । लगभग दुईबिच भिडन्त हुने स्थिति आयो । तर, सुरक्षाकर्मीले दुवैलाई तानेर टाढा लगे । 

विश्व बक्सिङमा टाइसनलाई निर्दयी मुक्केबाज भनिन्छ । उनले एक व्यावसायिक खेलमा विपक्षीका कान टोकेका थिए । ‘म विपक्षीको प्रहारअनुसार उत्तर दिनेछु,’ टाइसनले भने, ‘अहिले म भर्खरका खेलाडीलाई सहजै नकआउट गर्न सक्छु ।’ कार्यक्रम सञ्चालक टेलोरले माहोल तताउने काम गरेका थिए । टेलोरले सुरुमै विश्वकै ‘लेडी किलर’ टाइसन भनी सम्बोधन गरेका थिए । हलमा लेडी किलर शब्द सुनेपछि टाइसन सम्हालिन सकेनन् । उनले टेलोरको पनि माइक्रोफोन खोसे । सन् २०२२ मा टेलोरले लाइट वेट विधामा उपाधि जितेका थिए । 

होलिफिल्डविरुद्धको त्यो खेल
सन् १९९७ को कुरो हो । त्यसवेला टाइसन फर्ममा थिए । उनले एक खेलमा तत्कालका विश्व च्याम्पियन इभान्डर होलिफिल्डलाई चुनौती दिएका थिए । टाइसन र होलिफिल्ड आ–आफ्नो बक्सिङ करिअरमा अपराजित जस्तै थिए । यी दुई खेलको प्रमोसन व्यापक गरिएको थियो । आयोजकले यसै खेलबाट करोडौँ डलर कमाए । खेलअगाडि आयोजना भएका प्रत्येक पत्रकार सम्मेलनमा टाइसन र होलिफिल्डबिच झडप हुन्थ्यो । कतिपय अवस्थामा कडा सुरक्षा व्यवस्था तयार परिएको हुन्थ्यो । रिङमा जानुअघिसम्म उनीहरूले एकआपसमा ‘बक्सिङ करिअर’ सिध्याउने चेतावनी दिएका थिए । 

संसारले प्रतीक्षा गरेको खेल सुरु भयो, त्यहाँको माहोल नै बिलकुल फरक देखियो । सुरुमै होलिफिल्डले टाइसनमाथि मुक्का प्रहार गरे । रिसमाथि नियन्त्रण गर्न नसक्ने टाइसनले होलिफिल्डलाई एउटा कुनामा लगे । उनले विपक्षीलाई मुक्का प्रहार गरेनन् । टाइसनले होलिफिल्डको कानबाट एक टुक्रा नै निकाले । रेफ्रीले टाइसनलाई अयोग्य घोषणा गरे । बक्सिङ इतिहासमा यो खेल अहिलेसम्मकै विवादास्पद मानिएको छ । १९ वर्षपछि पुनः रिङमा फर्कन लागेका टाइसनले सम्भवतः यस्तै खेल दर्शकले देख्न पाउने बताए । अर्कोतिर पाउलले आफ्नो प्रतिद्वन्द्वीको टिप्पणीलाई वास्ता नै गरेनन् । 

तीन वर्ष जेल
टाइसनको करिअर निकै उतार–चढावका रूपमा बितेको छ । रिङदेखि बाहिरी संसारमा उनी सधैँ विवादमा परिरहे । अन्तर्राष्ट्रिय बक्सिङमा उनलाई इतिहासकै सबैभन्दा विवादास्पद र अस्थिर व्यक्तित्वका रूपमा लिने गरिन्छ । एक निर्विवाद च्याम्पियन खेलाडी बलात्कारका लागि तीन वर्षको जेल सजाय भोगेका थिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा टाइसनका विगतका फोटो स्मरण हुँदा ती विवादित पक्षहरू समेटिएका थिए । टाइसनले ती क्षणहरूलाई गम्भीरतापूर्वक हेरेका थिए । 

See More On

सुझावित समाचार