मनाङको पोस्टमा पुलिसको सात गोल

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस क्लबले ललित स्मृति यू–१८ युथ लिग फुटबल प्रतियोगितामा बुधबार मनाङ मर्स्याङ्दीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा मनाङमाथि सानदार जित दिलाउने क्रममा पुुलिसका आदित्य ढुंगेलले ह्याट्रिक गरेका थिए । आदित्यले पहिलो हाफको २६औँ र ४४औँ मिनेटमा गोल गरेका थिए । उनले खेलको पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक गरे । पुलिसको जितमा कप्तान विक्रम गौतमले दुई गोल गरेका थिए । साजनराज गौतम र लक्ष्मण थानीले समान एक गोल गरे । 

पुलिसले खेलको नवौँ मिनेटमा साजनको गोलबाट अग्रता लिएको थियो । गोल खाएपछि सम्हालिन कोसिस गरेको मनाङविरुद्ध लक्ष्मणले खेलको ११औँ मिनेटमा गोल गरे । त्यसपछि आदित्यले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दा पुलिस ५–० ले अघि रह्यो । पुलिसका कप्तान विक्रमले खेलको ७९औँ र ८५औँ मिनेटमा गोल गरे । 

लिगमा पुलिस र मनाङबिच शीर्ष स्थानको होेडबाजी चलिरहेको छ । तर, पुलिसले मनाङमाथि उत्कृष्ट खेल पस्कियो । एकपक्षीय जित निकालेको पुलिसले नौ खेलबाट २३ अंक जोडेको छ । पुलिसले दोस्रो स्थानमा रहेको मनाङमाथि ५ अंकको अन्तर बनाएको छ । लिगमा यो मनाङको तेस्रो हार हो । मनाङले ९ खेलबाट १९ अंक जोडेको छ ।

जावलाखेलको कठिन जित 
लिगअन्तर्गत जावलाखेल युथ क्लबले एनआरटीलाई २–१ ले हराएको छ । जितपछि नौ खेलबाट ११ अंक जोडेको जावलाखेल आठौँ स्थानमा छ । समान खेलबाट १६ अंक जोडेको एनआरटी तेस्रो स्थानमा छ । एनआरटीको यो तेस्रो हार हो । अनिश चौधरीले अन्तिम इन्जुरी टाइममा गोल गर्दै जावलाखेललाई जित दिलाए । खेलको १२औँ मिनेटमा सुदीप मोक्तानले जावलाखेललाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा एनआरटीका लागि इशान थापाले बराबरी गोल फर्काएका थिए ।

See More On

सुझावित समाचार