भैरहवामा वाइडबडीको पहिलो व्यावसायिक उडान

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण

कतारले गर्यो एयरबस–३३० विमानबाट उडान, सातामा २४ उडान पुगे

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमानबाट पहिलो व्यावसायिक उडान भएको छ । कतार एयरवेजको ३०५ सिट क्षमताको वाइडबडी विमान एयरबस–३३० मंगलबार दिउँसो भैरहवा अवतरण गरेको हो । 

भैरहवामा कतारको यो पहिलो उडान हो । दोहाबाट ३३ यात्रु बोकेर आएको वाइडबडी विमान दिउँसो २:४८ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । एक यात्रु भैरहवामै ओर्लिए भने ३२ यात्रु काठमाडौं आएका थिए । कतारको विमान अवतरण गर्दा जजिरा एयरवेज र फ्लाई दुबईको विमान पनि भैरहवा विमानस्थलमै रहेको महाप्रबन्धक प्रताप तिवारीले बताए । जजिराको उडान बिहान भए पनि खराब मौसमका कारण काठमाडौं डाइभर्ट भएर दिउँसो भैरहवा पुगेको थियो ।

कतारले वाइडबडीबाट दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने महाप्रबन्धक प्रताप तिवारीले बताए । भैरहवाबाट दिउँसो ४ः४५ बजे काठमाडौंका लागि उड्ने र ६:५५ बजे काठमाडौंबाट दोहाका लागि उडान गर्ने तालिका छ । अपर्झट भैरहवा उडान गरेको हुँदा कतारले थोरै यात्रु बोकेर आउनुपरेको उनको भनाइ छ । उनले थपे, ‘अब भैरहवा उडानको प्रचार गर्नुपर्छ, भैरहवाकै लागि टिकट बुकिङ खोल्नुपर्छ, बिस्तारै यात्रु बढ्दै जानेछन् ।’

कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा उडानको अनुमति लिएको छ । यस अवधिमा कतारले भैरहवामा कुल १९ फ्लाइट गर्ने बताइएको छ । कतार थपिएसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । यसअघि नै थाई एयर एसिया, जजिरा, फ्लाई दुबई, नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छन् ।

कतार एयरवेज र फ्लाई दुबईले सातामा सातै दिन उडान गर्नेछन् भने जजिराले सातामा तीन, नेवानिले पाँच र थाई एयर एसियाले दुई उडान गर्नेछन् । अब भैरहवामा सातामा सातै दिन अन्तर्राष्ट्रिय उडान हुने तिवारीले बताए । आइतबार, बुधबार शुक्रबार र शनिबार तीन–तीन तथा सोमबार, मंगलबार र बुधबार चार–चार उडान हुनेछन् ।

सुझावित समाचार