मुख्यमन्त्री शाहले सार्वजनिक गरे सरकारका सयदिने उपलब्धि

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका उपलब्धि विवतरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री कार्यालयमा आज पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले सय दिनको अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा सरकारले केही महत्त्वपूर्ण काम गरेको दाबी गरे।

निर्धारित अवधिमा बजेट आउन नसकेर प्रदेश बजेट शून्यताको अवस्थामा रहेका वेला नयाँ सरकारले बजेट ल्याएर आर्थिक गतिविधि चलायमान बनाएको, केही ऐनहरू निर्माण तथा संशोधन गरेको उनले बताए। प्रभावकारी सेवा प्रवाह र विकासको माध्यमबाट प्रदेशका आमनागरिकबिच विकास, स्थायित्व र सुशासनका लागि आशा र भरोसा बढाउने काम सरकारले गरेको मुख्यमन्त्री शाहले दाबी गरे।

सूचना, प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत स्थानीय तह र प्रदेश सरकारबिच आपसी सहयोग, समन्वय र साझेदारीलाई अझ बलियो बनाउने काम आफू नेतृत्वको सरकारले गरेको उनले बताए । मुख्यमन्त्री शाहले सय दिनको अवधिमा सरकारले प्रदेश निजामती सेवा ऐन र प्रदेश विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनलाई संशोधन गरेको जानकारी दिए।

केही विधेयकहरू निर्माणको क्रममा रहेका सयदिने उपलब्धि विवरणमा उल्लेख छ । यो अवधिमा साढे १८ किलोमिटर सडक कालोपत्रे गरिएको, दुईवटा पुलको निर्माण सम्पन्न भएको, २७ किलोमिटर सडक ग्राभेल गरिएको, प्रादेशिक सडक गुरुयोजना र सडक मर्मतसम्भार निर्देशिकाको मस्यौदा तयार गरिएकोलगायत विवरणहरू सरकारले आफ्नो सयदिने उपलब्धिमा समावेश गरेको छ।

मुख्यमन्त्री शाहले चालू आर्थिक वर्षका लागि विनियोजित ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेटमध्ये हालसम्म पुँजीगततर्फ ५.९७ प्रतिशतसहित कुल ८.०२ प्रतिशत खर्च भएको जानकारी दिए। कैलालीको टीकापुरमा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि कानुन निर्माणको प्रक्रिया पनि सरकारले अगाडि बढाएको मुख्यमन्त्री शाहले बताए। यससम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकिएको उनले जानकारी दिए ।

कांग्रेस संसदीय दलका नेता शाह गत २० साउनमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । शाह नेतृत्वको प्रदेश सरकारमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।  
 

सुझावित समाचार