छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउँदै जुम्लाका तीन स्थानीय तह

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

विशेषज्ञ चिकित्सक उत्पादन गरी गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउन थालेको छ । पालिकाभित्रका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर एमबिबिएस पढाउन थालेको हो । 

अहिले पनि दुर्गमबाट सुगममा गएर विशेषज्ञ चिकित्सक सेवा लिनुपर्ने बाध्यता छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जिल्लामै भए पनि आर्थिक रूपले विपन्न नागरिक अस्पताल पुगेर उपचार गर्न मुस्किल छ ।

कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजामा १५ शड्ढयाको अस्पताल पनि निर्माण भइरहेको छ । गाउँमै विशेषज्ञ डाक्टर उत्पादन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन छात्रवृत्तिमा कनकासुन्दरीले एमबिबिएस पढाउने कार्यक्रम ल्याएको कनकासुन्दरी गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीले बताए । उनका अनुसार हाल तीनमध्ये एकजनालाई ५० प्रतिशत छात्रवृत्तिमा एमबिबिएस पढिरहेका छन् । दुईजनालाई प्रोत्साहनस्वरूप एक–एक लाख रुपैयाँ सहयोग गरेको छ ।

कनकासुन्दरी गाउँपालिका– ५ लुड्की गाउँकी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा चिकित्सा शिक्षा एमबिबिएस पढ्दै आएकी छिन् । उनी गत वर्षदेखि नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबिबिएस अध्यायनका लागि झन्डै ४६ लाख खर्च हुन्छ । हमाललाई एमबिबिएस पढाउन कनकासुन्दरी गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्तिस्वरूप २३ लाख लगानी गरेको छ ।

कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबिबिएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ छात्रावृत्ति प्रदान गरेको छ । उनी किस्ट कलेज ललितपुरमा अध्ययन गर्दै आएकी छिन् । कनकासुन्दरी गाउँपालिका– ५ बढुवालवाडाका विवेक बढुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिडिएस डेन्टल अध्ययन गर्दै छन् । उनलाई पनि प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ सहयोग गरेको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले भने, ‘प्रिन्ता हमाललाई ५० प्रतिशतमा एमबिबिएस पढाएका छौँ । उनीसँग अध्ययनपछि दुई वर्ष अनिवार्य रूपमा गाउँपालिकामै सेवा गर्नुपर्ने सर्त तोकिएको छ । गाउँमै विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्यमा सफल हुनेछौँ ।’ 

पातारासी गाउँपालिकाले पनि छात्रवृत्तिमा एकजनालाई चिकित्सा शिक्षा एमबिबिएस पढाइरहेको स्वास्थ्य शाखा संयोजक रतन बुढथापाले बताए । ‘सात लाख रुपैयाँका दरले पाँच वर्षमा ३५ लाख छात्रवृत्ति प्रदान गरेका छौँ,’ उनले भने । तातोपानी गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्तिमा एमबिबिएस र इन्जिनियर पढाउने नीति अघि सारेको छ । 

सुझावित समाचार