लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)सँग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन्।
भेटवार्तामा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हवाई माध्यमबाट पर्यटक ल्याउने विषयमा छलफल भएको छ। उपाध्यक्ष लामाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिए।
सिइओ बराथनले संसारभरका बौद्धमार्गीहरूलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाए। उनले उडान सुरु हुनु सकारात्मक भए पनि नियमित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम र स्वास्थ्य परीक्षणजस्ता आवश्यक सुविधाहरू भैरहवाबाटै उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे।
भेटवार्तामा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यथाशीघ्र वैदेशिक रोजगारीमा जानेहरूका लागि आवश्यक सम्पूर्ण सुविधाहरू उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए।
भेटमा जजिरा एयरवेजका नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरू र एयरवेजका कार्मचारीहरूको सहभागिता रहेको थियो।