इजरायलले प्यालेस्टिनी शरणार्थीका लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसंघीय निकाय (युएनआरडब्लुए)सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्रसंघसमक्ष पेस गरेको छ।
इजरायली विदेशमन्त्री इजरायल काट्जको निर्देशनमा विदेश मन्त्रालयले इजरायल र युएनआरडब्लुएबिचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रसंघलाई सूचित गरेको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ।
विदेशमन्त्री काट्जले युएनआरडब्लुएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दाबी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजापट्टीको समस्याको हिस्साको रूपमा व्याख्या गरेका छन्। यद्यपि कुनै प्रमाण भने पेस गएिको छैन।
इजरायली संसद्ले गत महिना इजरायल र पूर्वी जेरुसेलममा युएनआरडब्लुएलाई प्रतिबन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो। इजरायलको सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा उक्त कार्यको निन्दा भएको थियो।
प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसंघीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय संकट थपिने विज्ञहरूले जनाएका छन्।
यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै युएनआरडब्लुएले गाजामा सहयोगको केही अंश मात्र पुर्याइरहेको बताए। इजरायल अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजापट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताएका छन्।
युएनआरडब्लुए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन्। गाजामा रहेका करिब २४ लाख मानिस विस्थापित भएका छन्।