अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको बुधबार हुने फाइनल खेलकोे टिकट बिक्री आफैँले गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए। उक्त खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ।
एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँबाट बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ।
एन्फाले साधारणतर्फ ११ हजार र भिआइपीतर्फ एक हजार मात्र टिकट बिक्री गर्ने जनाएको छ। साधारण प्यारापिटतर्फ पाँच सय र भिआइपी प्यारापिटतर्फ एक हजार टिकट दर तोकिएको छ।
त्यसैगरी, एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता पनि रद्द गरेको छ। फाइन खेलमा एन्फाले दशरथ रंगशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाई, मदिरा र अन्य नशालु पदार्थ, ठुला ब्याग तथा हेल्मेट लान निषेध गरेको छ।
अनुमतिविना ब्यानर, झन्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काँगियोलगायतका सामग्री रंगशालाभित्र लान निषेध गरिएको छ।