ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा ठमेलले फ्रिडम फाइटर युवा क्लबलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजना भएको प्रतियोगिताको मध्यपुर युथ एसोसिएसनको खेलमैदानमा आइतबार भएको खेलमा ठमेलका लागि बुद्धराज लिम्बू र कोमल खवासले गोल गरेका थिए ।
फ्रिडमका लागि मिलन राईले एक गोल फर्काए । विजेता ठमेलले आठ लाख र उपवजेता फ्रिडमले पाँच लाख पाएका छन् । ठमेलका मीनबहादुर बस्नेत उत्कृष्ट गोलरक्षक, भेषराज लिम्बू उत्कृष्ट मिडफिल्डर र ठमेलकै टासी छिरिङ उत्कृष्ट खेलाडी चुनिएका छन् ।
ठमेलका नै विनोद आले उत्कृष्ट प्रशिक्षक भएका छन् । फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्ट्राइकर विकर्ण श्रेष्ठ भए । अनुशासित टिम हाम्रो धरान फुटबल क्लब र सबैभन्दा बढी उमेरका फुटबल खेलाडी वीरगन्जका ऋतु शाक्य भए । नागार्जुन नगरपालिकाको प्रायोजनमा ३ कात्तिकदेखि भएको प्रतियोगितामा २१ टोलीको सहभागिता थियो ।