करिब ६ दशकदेखि अलपत्र रहेको लहान खुट्टी खोला सिँचाइ नहर सञ्चालनको माग गर्दै आइतबार संघर्ष समितिको आह्वानमा लहानमा विरोध प्रदर्शन भएको छ ।
खुट्टी खोला सिँचाइ संघर्ष समितिको आह्वानमा स्थानीय पशुपति आदर्श माविबाट खुट्टी खोला सिँचाइ नहर सञ्चालन गर, नहरमा ढल होइन पानी चाहियो, नहरमा ह्युमपाइप हाल्ने काम बन्द गरलगायतका नारा लगाउँदै विभिन्न गाउँबाट आएका अगुवा किसानसहित विभिन्न दल सम्बद्ध कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।
गत चैतमा नगरपालिकासँगको सम्झौतासँगै सुल्भ–गुक्ता–पिपिजेभिमार्फत लहान–७ बाट नाला तथा करिडोर निर्माण थालिएपछि विरोध गरिएको हो । लहान नगरपालिका–१० स्थित ओशो आश्रमदेखि उत्तरपट्टिबाट निकालेर लहान ५, ६, ७, ८ हुँदै गएको खुट्टी खोला नहरमा वर्षौंदेखि पानी नबगेको स्थानीय बासिन्दा बताउँछन् ।