बाढीले पुर्‍याएको क्षतिको बिमा दाबी साढे नौ अर्ब पुग्यो

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

१०–१२ असोजको बाढीपहिरो तथा डुबानबाट पुगेको क्षतिमध्येबाट बिमा कम्पनीहरूमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँबराबरको दाबी परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूमा सो रकमबराबरका तीन हजार तीन सय ६ वटा दाबी परेका छन् । 

यो निर्जीवन बिमा कम्पनीहरूमा आएको दाबी मात्रै हो । जीवन बिमा कम्पनीहरूमा आएको दाबीको विवरण गरिएको छैन । यस्तै, कम्पनीहरूले अग्रिम दाबी भुक्तानीसमेत सुरु गरेका छन् । हालसम्म अग्रिम दाबीबापत ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ भुक्तानी भएको छ । दुई सय ६१ वटा संख्यामा यस्तो भुक्तानी भएको हो । पछिल्लो विपत्बाट ग्राहकलाई परेको असरलाई दृष्टिगत गर्दै अग्रिम दाबी भुक्तानी अघि बढाइएको नेपाल बिमक संघका अध्यक्ष क्षेत्रीले बताए । 

कम्पनीले दाबी गरेकोमध्ये आंशिक रकम अग्रिम दाबी भुक्तानी गरेका हुन् । अन्तिम दाबी भुक्तानी भने सर्भेयरको प्रतिवेदनका आधारमा गरिनेछ । विपत्मा परेको बिमितको सहजताका लागि अग्रिम दाबी पनि गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । पूर्ण दाबी भुक्तानी सर्भेयर प्रतिवेदनका आधारमा गरिने उनले बताए । तथ्यांकअनुसार सम्पत्ति बिमामा मात्रै सात अर्ब ३१ करोड ६८ लाख रुपैयाँको एक हजार ६ सय ३५ वटा दाबी आएका छन् । त्यसमध्ये एक सय ३५ वटा दाबीमा २६ करोड ७२ लाख ८३ हजार रुपैयाँबराबरको अग्रिम दाबी भुक्तानी पनि गरिएको छ । 

यसैगरी, इन्जिनियरिङ बिमामा एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँबराबरका दुई सय ७५ वटा दाबी पर्दा दुईवटामा ३० लाख २६ हजार रुपैयाँबराबरको अग्रिम भुक्तानी दिइएको छ । 

यस्तै, निजी मोटर बिमामा २३ करोड ७७ लाख रुपैयाँबराबरका आठ सय ३८ वटा, सार्वजनिक मोटर बिमामा १६ करोड १२ लाख रुपैयाँबराबरका तीन सय ३८, सामुद्रिक बिमामा दुई करोड २८ लाख रुपैयाँबराबरका २५ वटा, कृषिबाली बिमा एक करोड १९ लाख रुपैयाँबराबरका ५४ वटा, पशुपक्षी बिमामा एक करोड १२ लाख रुपैयाँबराबरका ५४ र विविधमा ५५ लाख रुपैयाँबराबरका १६ वटा दाबी परेका छन् । 

हालसम्म निजी मोटर बिमा दुई करोड २९ लाख रुपैयाँबराबरका ८४, सार्वजनिक मोटर बिमामा ९१ लाखबराबरका २१ वटा, सामुद्रिक बिममा नौ हजारबराबरको एक, कृषि बिमामा १० लाखबराबरका १३ वटा, पशुपक्षी बिमामा दुई लाखबराबरका चारवटा अग्रिम दाबी दिइएको छ ।

See More On

सुझावित समाचार