गत २१ असोजमा नेपाल–भारत सिमानाका काँकडभिट्टामा सशस्त्र प्रहरी बल, नेपालले ३५ ग्राम ब्राउन सुगरसहित धनुषाको मिथिला नगरपालिका– ५ का श्यामबहादुर लोप्चनलाई पक्राउ गर्यो । मलद्वारमा लुकाई भारतबाट लागुऔषध नेपाल भित्र्याउने क्रममा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा लगायो । मलद्वारमा लुकाएको लागुऔषध फेला पार्न मुख्य भूमिका थियो, जोजो नाम गरेको कुकुरको । सशस्त्र प्रहरीको यो कुकुरले लागुऔषध लोप्चनको मलद्वारमा भएको पत्ता लगाएको थियो ।
यस्तै, १० वैशाखमा काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीले ४३.१५ ग्राम ब्राउनसुगरसहित धादिङ खनियावास गाउँपालिका– ५ का विनोद तामाङलाई पक्राउ गर्यो । तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेश विष्टले जानकारी दिए ।
यी दुईवटा त उदाहरण मात्र हुन् । पछिल्लो समय नेपाल–भारत सीमामध्ये सबैभन्दा धेरै आवतजावत हुने नाकाका काँकडभिट्टामा सशस्त्र प्रहरीको ‘जोजो’ र ‘साथी’ नामक तालिम प्राप्त दुईवटा कुकुरले सीमामा आवतजावत गर्नेको निगरानी गरिरहेको छ । गत वर्षको असोजमा ल्याइएका यी दुई कुकुरले सीमाबाट हुन सक्ने लागुऔषध र हातहतियार ओसारपसार नियन्त्रणमा काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । यी दुई कुकुरलाई प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टामा राखेर सीमाको निगरानीमा खटाइएको छ । दुवै कुकुर दिनमा दश घण्टा सीमामा खटिन्छन् ।
सीमाको निगरानीका लागि दुईवटा कुकुरसहित चारजना तालिमप्राप्त जनशक्ति खटाइएको सूचना अधिकारी विष्टले जानकारी दिए । ‘यो नाका झापाको ठुलो नाका हो । यहाँबाट फरक–फरक प्रवृत्तिका दैनिक हजारौँ मान्छेको आवतजावत हुन्छ । त्यसका केही अपराधिक व्यक्ति र समूह आवतजावत गर्ने भएकाले यसको नियन्त्रणका लागि कुकुर ल्याएका हौँ । कुकुर ल्याएपछि लागुऔषध नियन्त्रणमा धेरै सहज भएको छ । यसले खास गरी सुँघेर लागुऔषध, हातहतियार पत्ता लगाउँछ,’ विष्टले भने, ‘हामी मान्छेले पत्ता लगाउन नसक्ने ठाउँ गोप्य अंग, जुत्तालगायत ठाउँमा लुकाएर ल्याएको पत्ता लगाउने भएकाले पनि अहिले सहज भएको छ ।’
विष्टका अनुसार यो सशस्त्र प्रहरीको यी कुकुर २४ असोज ०८० मा सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयबाट ल्याइएको हो । एक वर्षको अवधिमा कुकुरको सहायताले पूर्वीनाका काँकडभिट्टाबाट २२९ दशमलव ३५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उक्त लागुऔषधसहित ४६ जनालाई पक्राउ गरी प्रहरीलाई बुझाइएको उनले बताए । सशस्त्र प्रहरीका अनुसार यी दुई कुकुरमध्ये जोजोले लागुऔषध पत्ता लगाउँछ भने साथीले अवैध हातहतियार नियन्त्रणमा काम गर्दै आएको छ ।
सशस्त्र प्रहरी बलले सीमामा दुईवटा कुकुरसहित जाँच सुरु गरेपछि लागुऔषध नियन्त्रणमा केही सहज भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताए । ‘सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुर ल्याएपछि लागुऔषध नियन्त्रणमा केही सहज भएको छ । शंकास्पद व्यक्तिसँग लागुऔषध छ कि छैन भनेर सुँघेर पत्ता लगाउने भएकाले यसले हामीलाई सहजता दिलाएको छ,’ उनले भने ।
कुकुर परिचालन भएपछि मान्छेले नसक्ने वस्तु पनि पत्ता लागेका छन् : डिएसपी महेश विष्ट, सूचना अधिकारी, सशस्त्र प्रहरी बल नम्बर २ गण
काँकडभिट्टा झापाको ठुलो नाका हो । यहाँबाट फरक–फरक प्रवृत्तिका दैनिक हजारौँ मान्छेको आवतजावत हुन्छ ।
त्यसका केही आपराधिक व्यक्ति र समूह आवतजावत गर्ने भएकाले यसको नियन्त्रणका लागि कुकुर ल्याएका हौँ । कुकुर ल्याएपछि लागुऔषध नियन्त्रणमा धेरै सहज भएको छ ।
यसले खास गरी सुँघेर लागुऔषध, हातहतियार पत्ता लगाउँछ । हामी मान्छेले पत्ता लगाउन नसक्ने ठाउँ गोप्य अंग, जुत्तालगायत ठाउँमा लुकाएर ल्याएको पत्ता लगाउने भएकाले पनि अहिले सहज भएको छ ।