एक महिनामा ३० हजारले चढे धरहरा, छठपछि शुल्क लिने तयारी

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण

एक महिनामा करिब ३० हजारजनाले धरहरा चढेका छन् । ०७२ को विनाशकारी भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि सरकारले एक महिनाअघि मात्रै सर्वसाधारणका लागि खुला गरेको हो । 

सहरी विकास मन्त्रालयको सहरी विभाग तथा भवन निर्माण विभागअन्तर्गत आयोजना कार्यान्वयन एकाइले दैनिक ६ सयजनाले चढ्न पाउने गरी कार्यतालिका बने पनि दैनिक एक हजारसम्मले चढ्ने गरेका छन् । तिहारअघिसम्मका लागि धरहरा चढ्न अनलाइन बुकिङ भइसकेको एकाइले जनाएको छ । 

धरहरा चढेकामध्ये केहीले मात्रै धरहरा क्षेत्रमा गएर टिकट लिने गरेका छन् । बाँकीले अनलाइन टिकट लिने गरेका छन् । ‘सुरुवाती दिनमा दैनिक ६ सयजनाले धरहरा चढ्ने सेड्युअल बने पनि कुनै दिन त दुई हजारजनाभन्दा बढीसमेत भए । पछिल्ला दिन भने दैनिक करिब हजारजनाका दरले चढिरहेका छन्,’ एकाइ प्रमुख प्रकाश अर्यालले भने, ‘बालबालिका, वृद्धवृद्धा, अशक्त जसले टिकट बुकिङ नगरी आउनुभएको छ, उहाँहरूका लागि धरहरा क्षेत्रमै टिकट उपलब्ध गराउँछौँ । जसले गर्दा तोकेकोभन्दा धेरै हुन पुग्यो ।’ हाल धरहरा चढ्न पैसा लाग्दैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष (वैशाख ०७८) मा धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । तर, धेरै काम बाँकी भएकाले खुलेको थिएन । उद्घाटनको तीन वर्षपछि (३ असोजमा) खुले पनि धरहरा सञ्चालन कार्यविधि भने अझै बनेको छैन । कार्यविधिविनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट संविधान दिवसका दिन अर्थात् ३ असोजदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेका हुन् । अझै पनि धरहरा पूर्ण रूपमा बनिसकेको छैन । धरहरापरिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुनधारा पुनर्निर्माण सुरु नै भएको छैन ।

कार्यविधि नबन्दै शुल्क लिने तयारी
करिब नौ वर्षपछि खुलेको धरहरा चढ्न र धरहराबाट काठमाडौं नियाल्नका लागि सर्वसाधारण तँछाडमछाड गरिरहेका छन् । निःशुल्क चढ्न पाइने भएकाले धरहरापरिसरमा अत्यधिक भिडभाडसमेत हुने गरेको छ । अब तिहार र छठपछि भने शुल्क लगाउने एकाइको तयारी छ । छठपछि शुल्कको व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव गरिएको छ । विभागले दर तोकेर मन्त्रालयमा प्रस्ताव गरेको छ । उक्त शुल्क पास भए छठपछि धरहरा चढ्न जाने सर्वसाधारणले शुल्क तिर्नुपर्ने हुन्छ । ‘पूर्ण निःशुल्क गर्दा जसले पनि बुकिङ गर्ने, बुकिङ गरेर पनि नआउने, अत्यधिक भिडभाडसमेत भयो । त्यसैले कार्यविधि आउनुभन्दा अघिसम्मका लागि थोरै शुल्क व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौँ । प्रस्ताव स्वीकृत भएमा छठपछि धरहरा चढेको शुल्क तिर्नुपर्ने हुन्छ,’ अर्यालले भने । मन्त्रालयले शुल्कको व्यवस्था गरे पनि कार्यविधि बनेपछि भने सोहीअनुसारको शुल्क निर्धारण हुनेछ । 

सर्वसाधारणको अवातजावतसँगै पूर्ण रूपमा निर्माण नभइसकेको धरहरा आसपासमा निर्माणका काम पनि भइरहेका छन् । विभागका अनुसार धरहरा क्षेत्रको काम सकिन अझै केही समय लाग्नेछ । ‘धरहरा क्षेत्रभित्र रहेको पार्किङ, इलेक्ट्रोनिकलगायत छिटपुट काम बाँकी छन् । ती काम कात्तिकभित्र सकाएर सरकारलाई हस्तारन्तरण गर्छौं,’ उनले भने । विभागका अनुसार धरहरा सञ्चालनको मोडालिटी तयार भएपछि मात्र सञ्चालनको जिम्मा कसले लिने, शुल्क कति लिने ? लगायत तय हुनेछ । ‘धरहरा सञ्चालनको जिम्मा कुनै स्थानीय तहलाई दिने, समितिलाई दिने, निजी क्षेत्रलाई दिने वा कसलाई दिने भन्ने विषय कार्यविधि तयार भएपछि तय हुनेछ । सञ्चालनको जिम्मेवारी जसले लिन्छ, उसैले धरहरा चढेको शुल्क निर्धारण पनि गर्नेछ,’ अर्यालले भने । धरहरा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि थप निर्णय हुने विभागको भनाइ छ । सञ्चालनको कार्यविधि नबन्दा कहिलेसम्म र कुन रूपमा धरहरा सञ्चालन हुने अन्योल कायमै रहेको छ । ठुटे धरहरा र सुनधाराको पुनर्निर्माण कसरी अघि बढ्ने, कहिलेदेखि काम सुरु हुने भन्ने अन्योलसमेत छ । 

See More On

सुझावित समाचार