पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२४/०२५ सिजनमा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले वर्षभरि सर्वाधिक रकम आर्जन गरेका दश खेलाडीको सूची सार्वजनिक गरेको छ । खेलाडीले क्लबसँग गरेको सम्झौताअनुसार पाउने तलब, बोनस, इमेज राइट्स, स्पोन्सरलगायतबाट जोडेर वार्षिक आम्दानी गणना गरिएको फोर्ब्सले जनाएको छ । सर्वाधिक कमाउने खेलाडीमा साउदी प्रो लिग खेलेका चार खेलाडी छन् । पछिल्लो समय साउदीले सर्वचर्चित खेलाडीमा पैसाको खोलो बगाउने गरेको छ । रोनाल्डोसँगै साउदी लिग खेलिरहेकोमा नेयमार, करिब बेन्जेमा, र साडियो माने छन् । साउदी प्रो लिगले विश्व चर्चित इंग्लिस प्रिमियर लिगलाई पछि पार्यो । प्रिमियर लिगबाट तीन खेलाडी छन् । एर्लिङ हाल्यान्ड, मोहम्मद सलाह र केभिन डी ब्रुयना रहँदा स्पेनिस ला लिगाबाट भिनिसियस जुनियर र केलिएन एम्बाप्पे छन् । लियोनल मेसी एक्लैले अमेरिकी मेजर लिग सकरको प्रतिनिधित्व गरेका छन् । युरोपको उत्कृष्ट लिग मानिएका इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेसलिगाबाट कुनै पनि खेलाडी शीर्ष दशभित्र स्थान बनाउन सकेनन् ।

क्रिस्टियानो रोनाल्डो (वर्ष ३९), क्लब– अल नासर (साउदी अरेबिया), कमाइ– २८५ मिलियन डलर
पोर्चुगलका ३९ वर्षीय कप्तान हाल साउदी प्रो लिग क्लब नल नासरमा आबद्ध छन् । पछिल्लो तीन सिजन नल आसनरमा रहेका उनी अझै पनि पहिलो ट्रफी उचाल्ने दाउमा छन् । तर, उनी फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले वर्षभरिमा कुल २८५ मिलियन डलर कमाएका छन् । जसमा मैदानभित्रको सम्झौताबाट २२० मिलियन र स्पोन्सरबाट ६५ मिलियन कमाइ रहेको छ । सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडीमा पर्ने रोनाल्डोले अगस्टमा मात्रै युट्युब लन्च गरेका थिए । जसमा ९० मिनेटमै एक मिलियन सब्स्क्राइब पुगे । रोनाल्डो विश्वचर्चित स्पोर्टस् कम्पनीहरू नाइक, हर्बालाइफ र हुपसँग जोडिएका छन् जसबाट उनले ठूलो धन आर्जन गर्छन् ।
लियोनल मेसी (३७ वर्ष), क्लब– इन्टर मियामी (अमेरिका), कमाइ– १३५ मिलियन डलर
मेसीले यसै सिजन अर्जेन्टिनाका लागि १६औँ कोपा अमेरिकाको उपाधि जिताएका थिए । करिअरमा उनको यो दोस्रो कोपा अमेरिकाको उपाधि थियो । त्यसअघि उनी सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप उपाधि जित्न सफल भए । स्पेनिस क्लब बार्सिलोनाबाट युरोपका अधिकांश चर्चित उपाधि उचालेका मेसी मेजर लिग सकर पुगेसँगै फिफा विश्वकप नै जित्न सफल भएका हुन् । फ्लोरिडाको क्लबबाट खेलिरहेका उनले यस वर्ष १३५ मिलियन डलर कमाएका छन् । जसमा मैदानभित्रको कमाइ ६० मिलियन डलर छ । स्पोन्सरबाट ७५ मिलियन डलर कमाउँछन् । मेसी एडिडास, एप्पल टिभी र कोनामीजस्ता विश्वचर्चित ब्रान्डसँग आबद्ध छन् । जसबाट ठुलो आम्दानी आर्जन गर्दै आएका मेसीले सन् २०२५ सम्म इन्टर मियानीमै रहने गरी सम्झौता गरेका छन् ।
नेमार (वर्ष ३२), क्लब– अल हिलाल (साउदी अरेबिया), कमाइ – ११० मिलियन डलर
फ्रेन्च लिग पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर सन् २०२३ को सिजनमा नेमार साउदी प्रो लिग क्लब अल हिलालमा जोडिएका हुन् । तर, उनका लागि साउदी प्रो लिग सुखद रहन सकेको छैन । ३२ वर्ष लागिसकेका नेमार एक वर्षदेखि मैदानबाहिर छन् । घुँडामा चोटका कारण विश्राम लिएका अब उनी छिट्टै मैदान फर्कने तयारीमा छन् । यस क्रममा उनले साउदी प्रो लिगमा मात्र पाँच खेल खेले । ब्राजेलियन स्टारका लागि अल हिलालले ठुलो लगानी गरेको छ । सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आउँदा उनको मूल्य २६३ मिलियन डलर थियो । अहिले नेमारको मैदानभित्रको कमाइ ८० मिलियन तथा मैदानबाहिरको कमाइ ३० मिलियन डलर रहेको छ । नेमार पुमा, रेड बुल, स्किम्स, कोनामीजस्ता ब्रान्डसँग जोडिएका छन् ।
करिम बेन्जेमा (३६ वर्ष), क्लब– अल इत्तिहाद (साउदी अरेबिया), कमाइ – १०४ मिलियन डलर
घाइते भएका करिम बेन्जेमाले अल इत्तिहादका लागि पहिलो सिजनमा जम्मा २१ खेल खेले । सन् २००९/०१० सिजनपछि उनी पहिलोपटक एक सिजनमा ९ गोल गर्ने खेलाडीमा झरे । बालोन ‘डी’ ओर विजेता ३६ वर्षीय खेलाडी अहिले भने लयमा छन् । यो सिजन ६ खेलमा सात गोल गर्न सफल भइसकेका छन् । टिमले पाँच जित निकालेको छ । वर्षभरि सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडीको सूचीमा चौथो स्थानमा छन् । उनका लागि साउदीको अल इत्तिहादले एक सय मिलियन डलर खर्च गरेको छ । फ्रान्स र रियल मड्रिडका पूर्वखेलाडीले स्पोन्सरबाट ४ मिलियन डलर कमाउँदै आएका छन् । उनी फ्रान्सले सन् २०१८ को फिफा विश्वकप र सन् २०२१ मा नेसन्स लिग उपाधि जित्दाका मुख्य खेलाडी हुन् ।
केलियन एम्बाप्पे (२५ वर्ष), क्लब– रियल म्याड्रिड (स्पेन), कमाइ– ९० मिलियन
युरोपियन च्याम्पियन्स लिग उपाधि जित्ने सपना बोकेका युवा स्टार केलियन एम्बाप्पे यसै सिजन रियल म्याड्रिडमा अनुबन्ध भएका छन् । सन् २०१७ मा मोनाकोबाट पिएसजी अनुबन्ध भएका एम्बाप्पेले च्याम्पियन्स लिग उपाधि जित्न सकेका छैनन् । सपना पूरा नभएपछि उनी यसै सिजन स्पेन पुगेका हुन् । २५ वर्षीय खेलाडीले फ्रान्सका लागि फिफा विश्वकप जितिसकेका छन् । बाल्यकालदेखि नै रियलमा खेल्ने सपना देखेका एम्बाप्पेलाई क्लबले ८० हजार समर्थकमाझ सार्वजनिक गरेको थियो । पिएसजीले फुकुवा नगरेपछि क्लबसँग सम्बन्ध नै सुमधुर हुन सकेन । त्यसैले अहिले कोर्टमा पुगेका छन् । हाल उनी नाइक, हुब्लट, फिफा ई–स्पोर्टस्सँग आबद्ध छन् । उनी सन् २०१८ मा १९ वर्ष हुँदा डेब्यु गर्दै पेलेपछि विश्वकप खेल्ने कम उमेरको खेलाडी बनेका थिए ।