मन्त्री क्वार्टरको ढल स्थानीयको घरअगाडि सडकमा

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

क्वार्टरभित्रको ढल सडकमै बग्दा आसपासका क्षेत्र दुर्गन्धित भएपछि जनता आक्रोशित, कालो सिसाका गाडीमा हिँड्ने मन्त्रीहरू बेपरवाह

कालो सिसा भएका गाडीमा हिँड्ने मन्त्रीहरू बाहिरको दुनियाँसँग कतिसम्म बेपरवाह हुन्छन् भन्ने उदाहरण हेर्न भैँसेपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टर पुग्दा थाहा हुन्छ । चमकधमकसहितको मन्त्री क्वार्टरको ढल सडकमै खुला रूपमा छाडिएको छ । क्वार्टरभित्रकै ढल सडकमै बग्दा गनाएर बसिनसक्नु छ । तर, झन्डा फहराउँदै कालो सिसामा हिँड्ने मन्त्रीहरू न ढल देख्छन्, न त बिग्रिएको सडक नै । 

मन्त्री क्वार्टरको दिसापिसाबसहितको ढल सडकमा छाडिएपछि आसपासमा दुर्गन्ध फैलिएको छ । घरअगाडि तथा सडकमा क्वार्टरको ढल तथा फोहोर पानी बगेपछि स्थानीय आजित र असन्तुष्ट छन् । तर, यी सबै समस्यामा मन्त्रीहरूलाई चासो छैन । राज्यका माथिल्लो तप्काका पदाधिकारी नजिकै सरेपछि सबै कुरा व्यवस्थित हुने अपेक्षा गरेका स्थानीयले उल्टै ढलको दुर्गन्धको सामना गर्नुपरेको छ ।

मुख्यतः मन्त्री क्वार्टरको पश्चिमतर्फको सडकमा समस्या छ । पुरानो ढल तथा नाली जीर्ण बनेपछि मन्त्री क्वार्टरपछाडि पर्ने बस्तीको ढलको निकास रोकिएको छ । आफ्नो घर क्षेत्रको ढलको निकास नभइरहेको अवस्थामा फेरि मन्त्री क्वार्टरको ढलसमेत सडकमै बग्न थालेपछि स्थानीय चिन्तित छन् । कतिपय स्थानीयको घरको ढलसमेत सडकमै बगेको छ । एकातर्फ अप्ठेरो सडक र त्यसमाथि ढलसहितको पानी बग्दा आवतजावत नै अस्तव्यस्त छ । सडकवरिपरिको ढल पनि व्यवस्थापन भएको छैन । 

उच्च ओहदाका व्यक्तिले आफूहरूको समस्या नजरअन्दाज गरेको स्थानीयको गुनासो छ । मन्त्री क्वार्टरनजिकै घर भएका स्थानीयवासी अशोक राईले लामो समयदेखि ढल फुटेर सडकमा आउँदा पनि व्यवस्थापन नभएको बताए । ‘क्वार्टर नबन्दा बरु ठिकै थियो, बनेपछि ढल नै सडकतिर आउन थाल्यो,’ उनले भने, ‘दिसापिसाबसहितको ढल सडकमा मिसिएको छ । दुर्गन्धले बसिनसक्नु भएको छ ।’

स्थानीय राजेश पन्तको परिवार पनि मन्त्री क्वार्टरबाट निस्किने ढल गनाएर हैरानीमा छ । मन्त्रीहरू बस्ने ठाउँमा विकास आउला भन्दा थप समस्या आएको, तर मन्त्रीहरूले अस्तव्यस्त सडक र दुर्गन्ध फैलिएको ढल नदेखेको बताए । ‘यहाँको खानेपानीको पाइपमा ढल मिसिएको छ, धाराको पानीमा ढल आउन थालेको छ, क्वार्टरभित्र चमकधमक छ, तर बाहिरको समस्या भित्र बस्नेले देखेनन्,’ उनले भने । 

मन्त्री क्वार्टरको पूर्व, उत्तर र दक्षिणतर्फ वाल लगाए पनि पश्चिमतर्फ भने अस्तव्यस्त छ । टहराले मन्त्री क्वार्टर परिसर छुट्याएको छ । वरिपरिको ढल निकास छैन । मन्त्री क्वार्टरबाट आउने सबै ढल सडक तथा स्थानीयको घरअगाडि बग्ने गर्छ । जसका कारण दुर्गन्ध फैलिएको स्थानीय बताउँछन् । 

मन्त्री क्वार्टरवरिपरि पर्खाल लगाउने, सडक बनाउने र ढल निकास गरिदिने काम पनि सहरी विकास मन्त्रालयकै हो । तर, मन्त्रालयले हतारहतार मन्त्री क्वार्टर तयार पारेर मन्त्रीलाई भैँसेपाटीमा सारे पनि वरिपरिको अस्तव्यस्तता हटाउन सकेको छैन ।

स्थानीय विनोद कुँवरले मन्त्री क्वार्टर भैँसेपाटीमा सरेपछि विकासको अपेक्षा गरेका छन् । उनका अनुसार बाहिरको ढल व्यवस्थापन हुन नसकिरहेका वेला क्वार्टरभित्रको ढल पनि सडकमा बगेर डुङडुङ गनाउन थालेको छ । वरिपरिका सडक थप खाल्टाखुल्टीमा परिणत भएका छन् । मन्त्री क्वार्टरमा पानी लैजान पाइपलाइन बिछ्याउँदा पुरानो पाइपलाइन बिग्रिएको छ । खानेपानीको ट्यांकी तथा पाइपमा ढल पसेको छ ।

स्थानीय विजया कुँवरले पनि मन्त्री क्वार्टर सरेपछि स्थानीयलाई थप सास्ती र हैरानी भएको बताइन् । ‘मन्त्रीहरू बस्नका लागि बनाइएको क्वार्टर व्यवस्थित छ । तर, बाहिर सडकमा ढल छाडिएको छ । मन्त्री आउँदा–जाँदा यहाँका समस्या देख्दैनन्,’ उनले भनिन्, ‘पटक–पटक सडक र ढल व्यवस्थापन गर्न आग्रह गर्दा पनि मन्त्रीज्यूहरूले सुन्नुभएन । यो समस्या ललितपुर महानगरलाई पनि भनेका थियौँ । तर, महानगरले पनि यहाँको सडक, खानेपानीको समस्या र ढल व्यवस्थापनमा चासो दिएन ।’ 

गत वैशाखदेखि मन्त्रीहरू भैँसेपाटीको क्वार्टरमा सरेका थिए । मन्त्रीहरू बस्नका लागि भित्री सबै संरचना व्यवस्थित भए पनि ढल व्यवस्थापन र सडक मर्मतको काम बाँकी छ । जिम्मेवार निकाय सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता चन्द्रकाजी गुरुङ यसबारे मन्त्रालयका पदाधिकारीलाई थाहा नभएको बताए । ‘यस विषयमा इन्जिनियरलाई थाहा होला । हामीलाई थाहा छैन । सहसचिव तथा सचिवज्यूलाई पनि यो समस्याबारे थाहा छैन,’ उनले भने । 

२७ वटा भवनको ढल सडकमा, समस्या के हो ? 
नयाँ मन्त्री क्वार्टरमा २७ वटा भवन छन् र ती सबैको ढल सडकमा बग्छ । बाहिरबाट भवन टलक्क टल्किएका देखिन्छन् । कम्पाउन्डभित्रका सबै सडक, बगैँचा, खानेपानीको पाइपलाइन र ढल व्यवस्थित छ । तर, कम्पाउन्डबाहिर समस्या छ । व्यवस्थित क्वार्टरको ढल भने जनताको घरअगाडि र सडकमा बग्छ । योजनाअनुसार क्वार्टरभित्रको ढल नक्खु खोलासम्म जोड्नुपर्ने हो ।

तर, सहरी विकास तथा भवन निर्माण विभागले सडक विवाद देखाएर ढल सडकमै छाडिदिएको छ । विभागका महानिर्देशक मचाकाजी महर्जनले क्वार्टरबाहिरको ढल र सडक व्यवस्थापन हुन नसक्नुको कारण सडकको चौडाइसम्बन्धी विवाद हो । विवाद टुंग्याउन नसकेको विभाग ढल निकास र सडक अलपत्र पारेर बसेको छ । हाल क्वार्टरको पश्चिमतर्फको सडकको चौडाइ पाँच मिटर छ । स्थानीयले ११ मिटर बनाउनुपर्ने र त्यसका लागि मन्त्री क्वार्टरले जग्गा छाड्नुपर्ने माग राखेका छन् ।

तर, विभागले सडक फराकिलो पार्न जग्गा दिन मानेको छैन । सडक विभाग जनताको जग्गामा मन्त्री क्वार्टरको ढल बनाउन चाहिरहेको छ । ‘ढल र सडक व्यवस्थापन गर्न खोजेका हौँ । तर, स्थानीयले सडक चौडा पार्न मन्त्री क्वार्टर क्षेत्रको जग्गा छाड्नुपर्ने अडान राख्नुभएको छ,’ उनले भने, ‘मन्त्री क्वार्टरभित्रको जग्गा सडकलाई दिँदा क्याबिनेटको निर्णय चाहिन्छ । तर, यो विषय क्याबिनेट पुगेको छैन ।’ उनका अनुसार उक्त ढल निकासका लागि आथिक वर्ष ०८१/८२ मा एक करोड ५३ लाख छुट्याइएको छ ।

सुझावित समाचार