भारतीय प्रसिद्ध उद्योगी व्यवसायी रतन टाटाको निधनप्रति नेपाल-भारत उद्योग वाणिज्य संघले दु:ख व्यक्त गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै उद्योगी व्यवसायीका साथै दूरदर्शी समाजसेवी एवं अत्यन्त सहृदयी व्यक्तित्व टाटाको निधनमा संघले गहिरो शोक व्यक्त गर्दै दुःखद घडीमा सम्पूर्ण टाटा समूहप्रति समवेदना प्रकट गरेको जनाएको छ।
भारतीय उद्योग क्षेत्रमा स्टिल, अटोमोबाइल, सूचना प्रविधि, सञ्चार, दैनिक उपभोग्य वस्तु, ऊर्जा, अतिथि सत्कार, केमिकल्स, वित्तीय सेवा, हवाई सेवा, पूर्वाधार, इन्जिनियरिङलगायतको क्षेत्रका माध्यमबाट टाटा समूहले भारतीय अर्थतन्त्रमा ठुलो योगदान पुर्याउँदै आएको र टाटाले विश्व अर्थ जगतमा दरिलो उपस्थिति जनाउँदै आएको पनि संघले स्मरण गरेको छ।
‘पद्मभूषण, पद्मविभूषण तथा भारत रत्नजस्ता उच्च सम्मानबाट सम्मानित स्वर्गीय टाटा वास्तवमै साँचो अर्थमा भारतको रत्नको रूपमा प्रतिबिम्बित व्यक्तित्व हुनुहुन्न्थ्यो। स्वर्गीय टाटा व्यावसायिक जगतका एक दूरदर्शी नेतृत्वकर्ताका साथै एक अब्बल खोजकर्ता एवं धेरैका लागि आदर्श व्यावसायिक व्यक्तित्व हुनुहुन्थ्यो,’ संघका अध्यक्ष सुनील केसीले जारी गरेको शोक सन्देशमा भनिएको छ, ‘उद्योग व्यवसाय, समाज र सामाजिक सेवाको क्षेत्रमा स्वर्गीय टाटाको योगदानले आगामी नयाँ पुस्तालाई सदैव उत्साह र प्रेरणा दिइरहनेछ।’