मोहमद सलाह र लिभरपुलबिचको सम्झौता यस सिजनको अन्त्यतरि सकिँदै छ । सन् २०१७ मा लिभरपुलमा आबद्ध भएका सलाहले सम्झौताको नवीकरणबारे निर्णय गरेका छैनन् । इंग्लिस क्लब लिभरपुल भने उनलाई थप तीन वर्ष इनफिल्डमै राख्ने योजनामा छ । लिभरपुलले इजिप्टका खेलाडीलाई अन्य क्लबमा नपठाउन आकर्षक प्रस्ताव राखेको बेलायती एजेन्सीहरूले जनाएका छन् । ६ महिनाअघि बाहिरिएका प्रशिक्षक जर्गेन क्लोपले सलाहलाई प्रमुख खेलाडीका रूपमा भित्र्याएका थिए ।
क्लोप र सलाहबिचको जोडी जमेको पनि थियो । लिभरपुलले युरोपियन च्याम्पियन्स लिग पनि जित्यो । सन् २०१९ मा सलाहको उत्कृष्ट प्रदर्शन तथा क्लोपको कुशल प्रशिक्षणमा लिभरपुलले च्याम्पियन्स लिग हात पारेको थियो । लिभरपुलको पछिल्लो सफलतामा सलाहको भूमिका उच्च छ । उनले अहिलेसम्म ३५८ खेलमा २१७ गोल गरेका छन् । लिभरपुलको १३२ वर्षे इतिहासमा सलाह सर्वाधिक गोल गर्ने खेलाडीमा अगाडि छन् । तथ्यांकमा सलाह लिभरपुलका सबैभन्दा सफल फिनिसर बन्ने अभियानमा छन् । उनले क्लबसँग सम्झौता नवीकरण गरे मात्र थप उचाइ हात पार्न सक्छन् ।
बेलायती मिडियाहरूले सलाहले यसपटक सम्झौता नगर्न सक्छन् । साउदी अरेबिया र फ्रेन्च लिग वानबाट उनलाई प्रस्ताव आएका छन् । फुटबल करिअर धेरै बाँकी नरहँदा राम्रो दाम पाउने क्लबमा उनी जान चाहन्छन् । क्रिस्टियानो रोनाल्डो र नेमारजस्ता विश्वचर्चित खेडाली साउदी प्रो लिगबाट खेलिरहेका छन् । सलाहले पनि मध्यपूर्वी एसियामा आफ्नो बाँकी करिअर बिताउन चाहेको द सनले उल्लेख गरेको छ । ‘सलाहको भित्री चाहना अब साउदी प्रो लिगमा आबद्ध भएर पैसा कमाउनु हो,’ द सनले भनेको छ, ‘साउदी मात्र नभएर फ्रेन्च लिग वानबाट पनि राम्रो प्रस्ताव छ ।’
पिएसजीको प्रस्ताव
पेरिस सेन्ट जर्मेन (पिएसजी) फिनिसिरका रूपमा सलाहलाई भित्र्याउने तयारीका साथ अगाडि बढिरहेको छ । गत सिजनमा प्रमुख स्ट्राइकर केलियन एम्बाप्पे रियल म्याड्रिडसँग अनुबन्ध भएका थिए । एम्बाप्पेको बहिर्गमनसँगै पिएसजीमा विश्वस्तरीय स्ट्राइकरको अभाव खड्किएको छ । यसको परिपूर्ति गर्न सलाहलाई पहिलो प्राथमिकतामा राखेको द सनको भनाइ छ । पिएसजीले एकैपटक तीन वर्षको सम्झौता गर्न सक्छ । दुई वर्षको अन्तरमा पिएसजीले लियोनल मेसी, नेमार र एम्बाप्पेलाई गुमाएको थियो । प्रमुख खेलाडी नहुँदा पनि पिएसजीले लिगमा ६ खेलबाट १६ अंक बटुलेको छ ।