महोत्तरीमा घरधनीलाई घाइते बनाई लुटपाट, मन्त्री भण्डारीको घरमा समेत प्रवेश

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण
महोत्तरीमा घरधनीलाई घाइते बनाई लुटपाट, मन्त्री भण्डारीको घरमा समेत प्रवेश

घाइते रञ्जित साह

मंगलबार राति अज्ञात समूहले महोत्तरीको औरही नगरपालिका– १ स्थित रञ्जित साहको घरमा प्रवेश गरी साहलाई घाइते बनाएर लाखौँको धनमाल लुटपाट गरेको छ। मध्यराति ६ जनाको समूहमा आएका लुटेराहरूले साहलाई घाइते बनाई नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका हुन्।

घाइते साहको टाउको र नाकमा गरी आठ टाँका लगाइएको छ। उनको औरही बजारस्थित राधाकृष्ण क्लिनिकमा उपचार  भइरहेको छ। उनीसँगै घरमा रहेका श्रीमती र छोरालाई केही नगर्न याचना गर्दै घरको साँचो बुझाएपछि लुटेरा समूह सामान लिई भागेकाे घाइते साहले बताएका छन्। उनका अनुसार एक लाख ६६ हजार नगद, दुई  तोला सुनको गहना, ४० तोलाबराबरको चाँदीको गहनालगायतका सामग्री लुटिएको छ।

श्रममन्त्री भण्डारीको घरमा समेत लुटपाट
प्रहरीका अनुसार श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीको घरमा समेत सोही लुटेका समूहले कामदारको मोबाइल, चेकबुक र घरभित्रको केही थान कपडासमेत लगेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले लुटेरा समूहको खोजी भइरहेको बताए। मन्त्री भण्डारी हाल काठमाडौं छन्।

केही दिनअघि मात्र सम्सी– ६ मा अज्ञात समूहले घरधनीलाई घाइते बनाई लाखौँको लुटपाट गरेको थियो। प्रहरीले औरही घटनामा शंकाको आधारमा अनुसन्धान गर्न एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ती व्यक्तिको परिचय भने खुलाएको छैन।
 

सुझावित समाचार