टिकेन पुँजीबजारको उकालो यात्रा : नेप्से २६ सय विन्दुबाट तल

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ। नेप्से २६.०७ अंकले घटेर दुई हजार पाँच सय ९७.४९ को विन्दुमा कायम भएको हो।

आज ३१० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ बराबरको कारोबार भएको छ।

आज वित्त समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १.८२ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ ०.७१, विकास बैंक १.३८, होटेल तथा पर्यटन १.७९, जलविद्युत् १.७४, लगानी १.५२ र जीवन बिमा ०.४० प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.७९, लघुवित्त १.१२, म्युचुअल फन्ड ०.४१, व्यापार १.१८ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छ। थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको रु. २० करोड ७१ लाख ५५ हजार २६७ को सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर सात लाख नौ हजार ८६७ कित्ता किनबेच भएको छ। रासस

सुझावित समाचार