एनसेल फाउन्डेसनले सोमबार कपिलवस्तु नगरपालिका– ९, निग्लिहवामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा चार सयभन्दा बढी स्थानीयले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएका थिए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा सञ्चालित यस शिविरमा मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ डाक्टरबाट इसिजी, मधुमेह तथा रक्तचापको जाँच गरिएको थियो । साथै, बिरामीलाई आवश्यकताअनुसारको नि:शुल्क औषधि दिइएको थियो ।
यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निदान गर्न सहयोग पुग्नेछ । फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर)अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो नि:शुल्क स्वास्थ्य शिविर हो ।
यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा यस किसिमको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको एनसेलले जनाएको छ । साथै, एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य दुई विकट क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ । एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।