फिफा अध्यक्ष इन्फान्टिनोको नेपाल भ्रमण रद्द

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

प्रतिकूल मौसम र एन्फाको पर्याप्त तयारी नभएका कारण फिफा अध्यक्ष जियानी इन्फान्टिनोको २१ असोजमा नेपाल आउने कार्यक्रम स्थगित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले २१ असोजमा नेपाल भ्रमणको रद्द गरेका छन् । १२ वर्षपछि फिफा अध्यक्ष नेपाल आउन लागेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को पर्याप्त तयारी नहुनु र नेपालको प्रतिकूल मौसम अवस्था राम्रो नभएका कारण इन्फान्टिनोले भ्रमण रद्द गरेको एन्फाका एक पदाधिकारीले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार फिफाको टोली निजी विमानमा नेपाल आउने थियो । काठमाडौंमा १२ घन्टा बिताएपछि २२ असोजमै फिफाको टोली भुटान जाने कार्यक्रम थियो । भुटानमा इन्फान्टिनोले फिफा गोल प्रोजेक्टको निरीक्षण र फुटबल विकासका लागि उच्चस्तरीय भेटघाट गर्ने तय थियो । एन्फाका महासचिव किरण राईले भने फिफा अध्यक्षबाट नेपाल भ्रमण रद्द गरेको सम्बन्धमा आधिकारिक जानकारी नभएको बताए ।

‘फिफा अध्यक्ष इन्फान्टिनोले अर्को साता नेपाल भ्रमण गर्ने कुरा थियो, उहाँ आउने वा नआउनेबारेमा केही थाहा छैन, यसबारेमा बुधबार सार्वजनिक गर्नेछ,’ उनले भने । तर, एन्फाका ती पदाधिकारीले फिफा अध्यक्षको नेपाल भ्रमणमा एन्फाको तयारी नपुगेको दाबी गरेका छन् । 

‘१२ वर्षअघि फिफा अध्यक्ष सेप ब्लाटर आउँदा हामीले तीन महिनादेखि होमवर्क गरेका थियौँ, उहाँलाई विशिष्ट भिभिआइपी सुरक्षा प्रदान गरेका थियौँ, अहिले इन्फान्टिनोलाई आतिथ्य गर्न एन्फाको तयारी अपुग देखिएको छ,’ उनले भने । सन् २०१२ मा तत्काल फिफा अध्यक्ष ब्लाटर नेपाल आएका थिए । उनले एएफसी च्यालेन्ज कपको उद्घाटन दशरथ रंगशालामा गरेका थिए । इन्फान्टिनोको भ्रमण नहुने भएपछि फिफा प्रतिनिधिलाई काठमाडौंको पाँचतारे होटेलमा बस्ने व्यवस्था एन्फाले रद्द गरेको छ । 

उच्च पदाधिकारीले एन्फाको लापरबाहीका कारण ६ जना कलिला खेलाडीको निधनले फिफा दु:खी भएको बताए । गत शनिबार मकवानपुरको सिस्नेरीमा सञ्चालन गरिरहेको एकेडेमीमा रहेका ६ बालकको पहिरोमा ज्यान गएको थियो । एकेडेमीका कार्यरत कर्मचारीले बाढी र पहिरो आइरहेको समयमा ती बालकहरूलाई सुरक्षित स्थानमा लगेका थिए । तर, कर्मचारीहरूको लापरबाहीले ती ६ बालकले ज्यान गुमाउनुपरेको अभिभावक तथा आफन्तहरूले आरोप लगाएका छन् । 

सुझावित समाचार