संखुवासभाको मादी नगरपालिका– ६ को सिरिसे भन्ने ठाउँमा भेटिएको शंकास्पद वस्तु (ह्यान्ड ग्रिनेड) नेपाली सेनाले डिस्पोज गरेको छ।
मंगलबार बिहान करिब पौने ७ बजेतिर मादी–पिलुवा सडकबाट अन्दाजी २०–२५ मिटर तल रहेको भवानीप्रसाद दाहालको कोदो बारीको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीय २५ वर्षीय संजीव भुजेलले प्रहरीलाई खबर गरेका थिए। खबरपछि खाँदबारीबाट खटिएको नयाँ भैरवी दलको डिस्पोज टोलीले केहीबेर अघि सो वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
शंकास्पद वस्तु ३६ नम्बरको ह्यान्ड ग्रिनेड रहेको पाइएको छ। सो ग्रिनेड सशस्त्र द्वन्द्वकालमा छाडिएको हुन सक्ने सेना र प्रहरीले अनुमान गरेका छन्। डिस्पोज गरिसकेकाले कुनै खतरा नरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय संखुवासभाका विभिन्न ठाउँमा यस्ता शंकास्पद वस्तु भेटिन थालेका छन्। केही महिनाअघि जिल्ला प्रहरी कार्यालय परिसरमा समेत सुतली बम भेटिएको थियो।