कलंकी–नागढुंगा, सूर्यविनायक–धुलिखेल, बालाजु–माछापोखरी सडकखण्डको अवस्था बिजोग, देशभर चार हजार किलोमिटर राजमार्ग बेहाल, ३३२ स्थानमा एकतर्फी यातायात सञ्चालन
असोज लागेसँगै नेपालीहरूको सबैभन्दा ठुलो चाड दसैँको रौनक सुरु भएको छ । तर, चाडबाड नजिकिनै लाग्दा उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने नाकाका सडकखण्ड अस्तव्यस्त छन् । यसपटक पनि दसैँको यात्रा थप जोखिमपूर्ण हुने देखिएको छ ।
कलंकी–नागढुंगा, सूर्यविनायक–धुलिखेल, बालाजु–माछापोखरी सडकखण्डको अवस्था बिजोग छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० असोजसम्म सडक मर्मतका लागि सडक विभागलाई अल्टिमेटम दिए पनि अधिकांश मुख्य सडकखण्डमा मर्मतको काम सुरु भएको छैन ।
सोमबार कलंकी–नागढुंगा सडकखण्डमा सवारीसाधनको चाप अत्यधिक देखिन्थ्यो । खाल्डैखाल्डा र हिलैहिलो भएको सडकमा सवारीसाधन बडो असहज तरिकाले गुडिरहेका देखिन्थ्यो । दुईपांग्रे सवारीसाधनमा त यात्रा झनै जोखिमपूर्ण लाग्थ्यो । ५ असोजमा बसेको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीस्तरीय बैठकमा मन्त्री देवेन्द्र दाहालले सडक विभागलगायत मातहतका निकायलाई समयमै सडक मर्मत गरेर यात्रा सहज पार्न दिएको निर्देशन अलपत्र जस्तै छ ।
सबैभन्दा बढी सवारीसाधनको चाप हुने कलंकी–नागढुंगा नाकाक्षेत्र सरकारी निकायको लापरबाहीका कारण अस्तव्यस्त छ । सडकखण्ड विस्तार गर्ने क्रममा भत्काएर अस्तव्यस्त पारिएको छ । पहिरो खसेका ठाउँहरूसमेत व्यवस्थित बनाइएको छैन । उपत्यकाका विभिन्न नाकाबाट दैनिक ८० हजारहाराहारी सवारीसाधन बाहिरिने अनुमान छ । तर, यी सडकखण्डमा खाल्डाखुल्डीविहीन ठाउँ भेटाउनै कठिन छ ।
हुन त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँको वेलामा मुख्य नाका तथा राजमार्गहरूमा सवारीसाधनको अत्यधिक चाप हुने भएकाले त्यसलाई मर्मतसम्भार गर्न सडक विभागलाई एक साताअघि निर्देशन दिएको थियो । १० असोजभित्र सबैजसो राजमार्ग तथा मुख्य सडकमा खाल्डाखुल्डी टाल्ने, कालोपत्रे गर्ने, ग्राभेल बिछ्याउने, गे्रडिङ गर्ने जिम्मा सडक विभागलाई थियो । तर, खाल्डाखुल्डी मर्मत गर्न दिएको समय सकिन दुई दिन मात्रै बाँकी रहँदा विभागले खाल्डाखुल्डी टालेको र मर्मतसम्भार गरेको देखिएन । काठमाडौंको नजिकै पर्ने नागढुंगा–बैरेनी क्षेत्रमा पर्ने सडक सबैभन्दा बेहाल अवस्थामा छ । यहाँ बडेमानमा खाल्डा छन् । सवारीसाधन पनि एकतर्फी रूपमा गुड्ने गरेका छन् ।
सडक विभागका मर्मतसम्भार महाशाखाका प्रमुख तथा उपनिर्देशक अर्जुन अर्यालका अनुसार यसपटक पानी आइरहेकाले सडक मर्मतमा समस्या देखिएको हो । ‘मर्मत तथा पिचको काम गर्न थाल्दा पानी पर्छ, पानी परेको वेला काम गर्न मिल्दैन,’ उनले भने, ‘अहिले हामीले दसैँलक्षित सडक मर्मतको काम थालेका हौँ, तर भनेजस्तो हुन सकेको छैन ।’
अर्यालका अनुसार कतिपय ठाउँमा पानी परेका कारण सडक अझै अवरुद्ध छन् । कहीँ पुल र डाइभर्सन बगेका छन् । विभागले सर्वप्रथम पुल तथा डाइभर्सनको काम गर्ने र दोस्रो चरणमा जति सकिन्छ खाल्डा पुर्ने उनले बताए । तर, काठमाडौं उपत्यकाभित्रका सडक भए पिच गरिनेछ । उपत्यकाबाहिर राजमार्गलाई सम्म पार्ने र सवारीसाधन गुड्न सहज हुने बनाइनेछ ।
विभागका उपनिर्देशक अर्यालका अनुसार हाल विस्तारको क्रममा रहेको सबैजसो राजमार्ग वैदेशिक सहायताअन्तर्गत निर्माण भइरहेका छन् । जसका कारण समयमै काम सक्न र काम लगाउन कठिन छ । नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, मुग्लिन–बुटवल सडकखण्ड पनि वैदेशिक सहायतामा विस्तार भइरहेका छन् । हाल नारायणघाट–दाउन्ने खण्डमध्ये ६० किलोमिटर सडक कालोपत्रे भएको छ । ६ लेनको यो सडक कालोपत्रे भएका ठाउँमा भने सवारीसाधन निर्वाध रूपमा गुड्छन् । तर, काम भइरहेका स्थानमा कठिन हुने गरेको छ ।
सडक विभागको तथ्यांकअनुसार हाल देशभर ८० वटा राष्ट्रिय राजमार्ग छन् । उपत्यकासहित विराटनगर, भरतपुर क्षेत्रका सडक पनि ठुला सडकखण्डमा पर्छन् । त्यसमध्ये हाल देशभरका सबै राजमार्गको करिब चार हजार किलोमिटर सडक बिग्रिएको छ । उक्त सडक मर्मत गर्नुपर्ने अवस्था छ । तर, हालसम्म विभागले मुख्य–मुख्य सडकखण्डको खाल्डाखुल्डी टाल्न चासो दिएको छैन । हाल देशभर सबै राजमार्ग तथा ठुलो सडकखण्डको क्षेत्रफल १५ हजार किलोमिटर छ ।
ठुला सडकखण्ड मर्मत गर्न मन्त्रालयले निर्देशन दिए पनि विभागले सडक मर्मतको काम गर्न सकेको छैन । विभागका महानिर्देशक रामहरि पोखरेलले ठेक्का लाग्न ढिलो भएका कारण मर्मतसम्भार ढिलो भएको बताए । ‘अहिले देशका अधिकांश राजमार्ग मर्मत तथा विस्तारको क्रममा छन् । त्यसलाई स्थगित गरेर दसैँसम्म यातायात सहज पार्ने गरी सडक मर्मत गर्ने निर्णय भएको थियो । तर, ठेक्का ढिलो लाग्दा काम गर्न ढिलो भएको छ,’ उनले भने, ‘मन्त्रालयले दिएको समयसम्म सबै राजमार्ग मर्मतसम्भार गर्न नसकिने अवस्था छ ।’
नागढुंगा–नौबिसे, नौबिसे–मलेखु, मलेखु मुग्लिन, नारायणघाट–दाउन्ने र दाउन्न–बुटवल खण्डमा विस्तारको काम भइरहेको उनले बताए । विभागले मातहतका निकायहरूलाई आ–आफ्नो क्षेत्रभित्र पर्ने सडकखण्ड तथा राजमार्ग मर्मत गर्न निर्देशन दिएको छ । ‘अहिले कुनै एउटा राजमार्ग मात्रै होइन, देशैभरका मुख्य सडक मर्मत गर्नुपर्ने अवस्था छ, सोहीअनुसार केन्द्र सरकारबाट बजेट आएको छ,’ विभागका महानिर्देशक पोखरेलले भने, ‘कतिपय ठाउँमा पहिरो गइरहेकाले काम गर्न कठिन छ, भनेको वेला सडक मर्मत नहुने अवस्था पनि छ ।’
५ असोजमा बसेको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीस्तरीय बैठकमा मन्त्री देवेन्द्र दाहालले सडक विभागलगायत मातहतका निकायलाई समयमै सडक मर्मत गरेर यात्रा सहज पार्न निर्देशन दिएका थिए । तर, चाडबाड नजिकिनै लाग्दा सडकको अवस्था नाजुक रहेकाले यात्रुहरू कष्टपूर्ण र जोखिमको यात्रा गर्न बाध्य हुने देखिएको छ । यद्यपि, विभागले हाल उपत्यकाआसपास नागढुंगा क्षेत्रमा सबैभन्दा बढी कामदार परिचालन गरिएको जनाएको छ । सडक डिभिजन, उपत्यका सडक विस्तार आयोजनालगायत मातहतबाट काम भइरहेको दाबी विभागको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सम्बन्धित निकायले सडक मर्मतसम्भार र व्यवस्थापनको काम नगरेको र यात्रुहरूले चाडबाडका वेला कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था देखिएको बताए । ‘सडकहरूको अवस्था बेहाल नै छ, मर्मतसम्भार भएका छैनन् । यात्रुलाई व्यवस्थित तरिकाले मेची–महाकाली पुर्याउनु ठुलो कुरा हो,’ उनले भने, ‘लामो दूरीका सवारीसाधनका लागि सबैभन्दा कठिन छ । सबैजसो मुख्य सडक ठाउँठाउँमा बिग्रिएका छन् । कतिपय सडक निर्माणाधीन अवस्थामा छन् ।’ सडक बनाउन सरकारका सबै निकायले सहयोग गर्नुपर्ने र यातायातका साधन सही समयमा गन्तव्यमा पुर्याउन सक्ने अवस्था बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
चालू आवमा देशभरका सडक मर्मतका लागि ९४ करोड बजेट
सरकारले चालू आर्थिक वर्षमा देशभरका मुख्य सडक मर्मतका लागि ९४ करोड विनियोजन गरेको छ । स्थानीय स्तरका सडक स्थानीय तहले मर्मत गर्ने भएकाले केन्द्र सरकारले ठुला सडक मर्मतका लागि बजेट विनियोजन गर्छ । तर, हालसम्म उक्त बजेटमध्ये १० प्रतिशत मात्रै खर्च भएको छ । ९४ करोडमध्ये सरकारले २७ करोड बजेट दसैँलक्षित सडक मर्मतका लागि छुट्याएको थियो । यो बजेट मुख्य तथा राजमार्गहरूको अस्थायी मर्मतका लागि हो । तर, उक्त बजेटमा पनि १० प्रतिशत मात्रै काम भएको विभागले जनाएको छ । विभागका महानिर्देशक पोखरेलले हालसम्म ४५ प्रतिशत राजमार्ग तथा मुख्य सडक मर्मत भएको दाबी गरे ।
यी ठाउँमा छन् सडक बिग्रिएका
पूर्व–पश्चिम राजमार्गको कृष्णभिरदेखि मुग्लिनसम्म सडक बढी बिग्रिएको छ । यही राजमार्गको कावासोतीदेखि दाउन्नेसम्म तथा दाउन्नेदेखि बुटवलसम्मको खण्ड पनि अस्तव्यस्त र खाल्डाखुल्डी छ । बिपी राजमार्गको साँगादेखि धुलिखेलसम्म सडक बिग्रिएको छ । अरनिको राजमार्गको काभे्रपलाञ्चोकस्थित खावा क्षेत्रमा सडक बढी खराब छ । यी ठाउँबाट धेरै जनगुनासा आउने गरेको र दुर्घटना बढेको विभागले जनाएको छ ।
३३२ स्थानमा पहिरो, एकतर्फी सञ्चालन गर्दा समस्या
मुख्य चाडबाड आउनै लागे पनि अझै झरी पर्ने क्रम रोकिएको छैन । वर्षाका कारण अझै पनि कतिपय सडकमा पहिरो गइरहेको छ । विभागका अनुसार हाल सबै राजमार्गको ३३२ स्थानमा पहिरो गएको छ । पहिरोका कारण पाँच सय किलोमिटर सडकमा सवारी आवागमनमा असहज अवस्था छ । ती ठाउँमा एकतर्फी सवारीसाधन गुडेका छन् । एकतर्फी सडकका कारण सवारीसाधन पास हुन समस्या हुने र जामसमेत हुने गरेको छ ।