एसियाली च्याम्पियनसिपमा पदक जित्ने अवसर

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्टस् सेन्टर जिम्न्याजिममा कराँतेकी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन् । सो रजत एसियाली खेलकुदमा कराँते खेलाडीले प्राप्त गरेको अहिलेसम्मकै बृहत् सफलता हो । अब यसै स्पोर्टस् सेन्टर जिम्न्याजिममा एक वर्षपछि नेपाली कराँते टोली एसियाली क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर कराँतेमा प्रतिस्पर्धा गर्दै छ । २०औँ संस्करणको प्रतियोगिता २० देखि २२ सेप्टेम्बरसम्म हुनेछ । 

प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहनेछ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एसियन च्याम्पियनसिपमा एरिकासहित ११ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्नेछन् । १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गरेको छ । एरिकाले २०औँ एसियन च्याम्पियनसिपमा ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरूपा दोङ तामाङले भाग लिनेछन् ।

टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले सहभागिता जनाउनेछन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्नेछिन् । यसैगरी, पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । 

पुरुषतर्फ सहभागी सबै खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यसमध्ये एरिकासहित सन्तोष, सेखु, स्वनिम, निरूपा र एलिसाले १९ औं एसियाडमा भाग लिएका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ रहेका छन् । 

कुशल १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी कुशल श्रेष्ठ तथा मण्डेकाजीले १३औँ सागका दोहोरो स्वर्ण जितेका थिए । कुशलले आफ्नै प्रशिक्षणमा गत वर्ष हाङझावमा नेपाललाई रजत दिलाएका थिए । उनले एसियाली सिनियर कराँतेमा पनि सहभागिता जनाइसकेका छन् । नेपाली टोलीमा नेपाल कराँते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौँ दक्षिण साफका कराँतेतर्फ स्वर्ण विजेता रवि महर्जन रहेका छन् । एसियाली सिनियर कराँतेमा नेपाल हालसम्म पदकविहीन छ ।     

यसैबिच, १८ सेप्टेम्बरमा एसियाली कराँते महासंघको काग्रेसमा सहभागी हुन नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन् ।  

पदक विजेतालाई राष्ट्रिय टिम तयारीमा राखिने
राखेपका सदस्यसचिव टंकलाल घिसिङले व्यवस्थित तयारीका साथ कराँते टोली प्रतियोगितामा सहभागी हुन लागेको बताएका छन् । हाङझावमा पदक विजेता खेलाडीहरूलाई राखेपले सु्विधासहित रणनीतिक तयारीका लाग राष्ट्रिय टिममा समावेश गर्ने घिसिङले प्रतिबद्धता दिएका छन् । ‘खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना छ, यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित राष्ट्रिय टिम तयारीमा समावेश गरिनेछ,’ उनले भने ।

विश्व च्याम्पियनसँग खेल्ने अवसर
एसियाडकी रजत विजेता एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठुलो अवसर भएको बताइन् । साथसाथै उनले विश्व च्याम्पियन खेलाडीसँग एकै एरिनामा प्रतिस्पर्धाको अवसरलाई महत्वपूर्णका रूपमा लिएको उनले बताइन् । ‘विश्व च्याम्पियनको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव लिने अवसर हो,’ उनले भनिन्, ‘म राम्रो प्लाटफर्म नतिजा निकाल्ने प्रयास गर्नेछु, तयारी पनि राम्रो भएकाले सबै खेलाडी उत्साहित छन् ।’

See More On

सुझावित समाचार