मितेरी सहकारी प्रकरण : डेढ महिनापछि अनुसन्धान थालेको सिआइबी मुद्दा दर्ता गर्ने तयारीमा

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको रकम अपचलन प्रकरणको अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको सहकारी रकम हिनामिनामा मुद्दा दर्ता प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । 

मितेरीका तत्कालीन प्रबन्धक ज्योति गुरुङसहितले १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको भन्दै बागमती प्रदेश सहकारी रजिस्ट्रारले गत १४ साउनमै सिआइबीमा अनुसन्धानका लागि सिफारिस गरेको थियो । तर, सिआइबीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको थिएन । अहिले भने अनुसन्धान प्रक्रिया अघि बढेको, तर मुद्दा दर्ता भइनसकेको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । ‘मितेरी सहकारी सम्बन्धमा अनुसन्धान अघि बढेको छ । अहिले आवश्यक कागजात अध्ययन हुँदै छ । अनुसन्धानको निचोडपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।

एसपी होविन्द्र बोगटी, प्रवक्ता, सिआइबी
मितेरी सहकारी सम्बन्धमा अनुसन्धान अघि बढेको छ । अहिले आवश्यक कागजात अध्ययन हुँदै छ । अनुसन्धानको निचोडपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ ।

हिनामिना भएको रकम असुलीविना बचतकर्ताको रकम फिर्ता गर्न नसकिने निष्कर्षपछि मितेरीले गत साउनमा बागमती प्रदेशस्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको थियो । उजुरीमा धनराजसहित ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको नाम उल्लेख थियो । तर, कार्यालयले धनराजको नाम काटेर ज्योति र उनीसँग सम्बन्धित अन्य पाँचजनाविरुद्ध मात्रै अनुसन्धान गर्न सिआइबीलाई सिफारिस गरेर पठाएको थियो । 

मितेरीसँग सहकारीको कुनै साइनो सम्बन्ध नभएको दाबी गर्दै कार्यालयले धनराजको नाम काटेर अनुसन्धानका लागि सिआइबीमा सिफारिस गरेको थियो । तर, धनराजले सम्बन्धविच्छेदपछि पनि ज्योतिलाई श्रीमतीकै हैसियत दिएर मितेरीबाट पटक–पटक ऋण झिकेका थिए । ऋण प्रवाह हुँदा मितेरीमा प्रबन्धक ज्योति थिइन् । ज्योतिसँग धनराजले २९ फागुन ०७६ मा सम्बन्धविच्छेद गरेका थिए ।

सुझावित समाचार