लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा करिब पाँच वर्षदेखि थन्किएका विद्युतीय सवारीसाधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराज शाक्यलाई उनले विद्युतीय सवारीसाधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । लुम्बिनीमा अनुदानमा ल्याइएका १९ वटा विद्युतीय बस र कार वर्षौँदेखि थन्किएका छन् ।
सवारीसाधन चलाउन आइपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजीकरण गर्ने भएकाले त्यसै नराख्न उनले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘कसरी हुन्छ ती सवारीसाधन चलाउनुस् । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ, हामी दिन्छौँ,’ उनले भने, ‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी कामविहीन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउँछौँ ।’ लुम्बिनीमा प्रदूषण कम गर्न एसियाली विकास बैंकको सहयोगमा पाँचवटा विद्युतीय बस र १४ वटा भ्यान (ट्याक्सी) प्राप्त भएका थिए । प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै यी बसहरू ल्याइएका हुन् ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँ लागतमा ट्याक्सी र बस भित्रिएका थिए । यसमा सरकारले साढे तीन करोड भन्सार शुल्क व्यहोरेको थियो । यही प्रोजेक्टअन्तर्गत १५ करोड लागतमा बनाइएको चार्जिङ स्टेसन सञ्चालनमा छ ।