शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कञ्चनपुर आइपुगेको छ । केन्द्रीय कार्यालय ललितपुर भई शाखा कार्यालय कञ्चनपुरको महेन्द्रनगर, बेलौरी र पुनर्वासमा विस्तार गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको अध्ययन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कञ्चनपुर आइपुगेको हो ।
बुधबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिमिल्सिना नेतृत्वको टोलीले महेन्द्रनगर शाखाको स्थलगत अनुगमन गरेको छ । सहकारीले महेन्द्रनगरमा मार्टसमेत सञ्चालनमा ल्याएको थियो । दुई वर्षदेखि सहकारी ठप्पसँगै मार्ट पनि बन्द रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिमिल्सिनाले सहकारीको कार्यालय र मार्टको स्थलगत अनुगमन गरिएको बताए ।
‘हामीले अहिले कार्यालय र मार्टको स्थलगत अनुगमन गरेका छौँ, खाद्यवस्तु कुहिएका छन् भने गैरखाद्य ठिकठाक अवस्थामा छन्,’ उनले भने, ‘अब सरोकारवाला निकायसँग छलफल गरेर सहकारी र मार्टमा भएको वस्तु जिन्सी सामानको मूल्यांकन गर्छौँ, लिलाम वा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गराउने काम अघि बढ्छ ।’ सहकारी कार्यालय राखिएका घरधनीहरूले समेत लामो समयदेखि अनिर्णयकाे बन्दी भएकाले घर खाली गरेर बचतकर्ताको रकम फिर्ता हुनुपर्ने बताएका छन्।
शिव शिखर बहुउद्देशीय सहकारी संस्थाका बचतकर्ताको संघर्ष समितिका अध्यक्ष लोकेन्द्र लम्सालले सहकारीको मौजुदा सामान जफत गर्दै लिलाम वा बिक्री गरेर साना बचतकर्तालाई प्राथमिकतामा राखेर बचत फिर्ता गर्नुपर्ने बताए । ‘पहिलो चरणमा भएको सहकारीको जिन्सी चल–अचल सम्पत्ति बिक्री गरेर साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘भावी दिनमा थप एक्सनमा उत्रिएर सबै बचतकर्ताको रकम फिर्ता गरेर सरकारले पीडित बचतकर्तालाई न्याय दिनुपर्छ ।’
शिव शिखर बहुउद्देश्यीय सहकारीले कञ्चनपुरका तीन हजार ६७१ बचतकर्ताको ३१ करोड ९७ लाख रुपैयाँ बचत डुबाएको छ । गत मंसिरमा सहकारीका मालिक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । चार वर्ष अघिदेखि कञ्चनपुरका तीन स्थान– महेन्द्रनगर, बेलौरी र पुनर्वासमा तकडभडकका साथ सञ्चालनमा आएको सहकारीले यहाँका झन्डै साढे तीन हजारभन्दा बढी जनताको ३१ करोडभन्दा बढी रकम संकलन गरेर अपचलन गरेको पाइएको छ ।
उक्त सहकारीका अन्य शाखामा बचत फिर्ताको माग अघि सारेर आन्दोलन हुँदा महेन्द्रनगरमा पनि ०७९ सालदेखि आन्दोलन गर्दै आएका थिए । बचत फिर्ता दिन नसकेपछि सहकारी बन्द भएको थियो । पछि सरकारले नै शिव शिखर बहुउद्देश्यीय सहकारीसहित २२ सहकारी संस्थालाई समस्याग्रस्तमा राखेको छ । स्थानीयले उक्त २२ मात्रै नभई अन्य सहकारीमा समेत ठगी भएकाले छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । केही टाठाबाठाहरूले सहकारी खोल्ने र जनता ठग्ने काम गरेको भन्दै यस्तामाथि कारबाहीदेखि नयाँ सहकारी खोल्ने कार्यमा कडाइ हुनुपर्नेमा जोड दिएका छन् ।