भाटभटेनी सुपरमार्केट्सले आफ्नो २८औँ स्टोर पोखरा महानगरपालिका– २९, तालचोकमा सञ्चालनमा ल्याउने भएको छ । सञ्चालनमा आउने २८औँ स्टोरको भवन निर्माणको काम सोमबारदेखि सुरु भएको छ । भाटभटेनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले भूमिपूजन गरी स्टोर निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
करिब एक अर्ब लागानीमा निर्माण हुन लागेको स्टोर दुई लाख २५ हजार ६ सय स्क्वायर फिटको हुनेछ । दुई तला बेसमेन्टसहितको सातले भवनमा स्टोरसँगै दुई मल्टिप्लेक्स सिनेमा हल, फुडकोर्ट, चाइल्ड प्ले जोनलगायत सुविधासमेत सोही भवनमा सञ्चालनमा आउनेछन् । स्टोर १२ रोपनी क्षेत्रफलको जमिनमा सञ्चालनमा आउनेछ ।
पोखरामा– ९, न्युरोडमा भाटभटेनीले यसअघि नै आफ्नो एउटा स्टोर सञ्चालन गरिरहेको छ । काठमाडौं उपत्यकाबाहिर एउटै महानगरमा दुई स्टोर सञ्चालनमा ल्याउन लागेको पोखरा पहिलो हो ।
स्टोर बढीमा एक वर्षभित्रमा सञ्चालनमा ल्याउने गरी आफूहरूले तयारी गरेको गुरुङले जानकारी दिए । २८औँ स्टोरमा करिब पाँच सयजनाले रोजगारीको अवसर पाउने उनले जानकारी दिए ।