‘लोकतन्त्रका लागि लडेँ भन्नेहरूले बहुमतका लागि गुपचुप महाभियोगको तयारी गरे’

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शासन सत्ताले राज्यका सबै निकायहरूलाई निकम्मा बनाएपछि राज्य असफल हुने भन्दै सत्तारूढ दलहरूलाई सचेत गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै परियारले सत्तारूढ दुई ठूला दलहरूले (संवैधानिक) परिषदमा बहुमत पुर्याउनका लागि गुपचुप सल्लाह गरेर उपसभामुखविरुद्ध महाभियोग लगाउन लागेको बताए।

‘आज बिहान बग्रेल्ती नेपाली मिडियामा आएका समाचार हेर्दा लाग्छ यो राज्य पनि  लोकतन्त्रमाथि आक्रमण गर्दै छ। माननीय उपसभामुखलाई महाभियोग लगाउनेजस्तो कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिल्यै पनि मान्य हुनेछैन,’ उनले भने।

आफूलाई लोकतन्त्रका लागि लडेको मसिहा भन्ने दलहरूले गुपचुप रूपमा सल्लाह गरेर महाभियोग लगाउने तयारी गर्नु गलत भन्दै प्रमुख सचेतक परियारले रास्वपा लोकतन्त्रका लागि लडिरहने बताए।

उनले भने, ‘आज सम्मानित पदलाई एउटा परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिहा भन्ने राजनीतिक पार्टीहरू गुपचुपमा सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ, स्मरण गर्नुहोस्– रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला, देशले एउटा सम्मानित पद गुमाउला, तर लोकतन्त्रका लागि रास्वपा सधैँ लड्नेछ ।’
 

सुझावित समाचार