भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज देवाधिदेव महादेवको पूजा–आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
तिजको दिन बिहान पानी परेकाले पशुपति क्षेत्रमा यसअघिका वर्षमा जस्तो भिड छैन । लाइन व्यवस्थित र मर्यादित छ । श्रद्धालु भक्तजनले पशुपतिको दर्शन गर्न लामो लाइन बस्नुपरेको छैन ।
तिजका अवसरमा चारवटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । तिज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि चार स्थानबाट लाइनको व्यवस्था गरिएको छ ।










