निर्माण थालनी गरेको सात वर्षभन्दा धेरै समयपछि सल्यान छत्रेश्वरी गाउँपालिका– ६ र ७ जोड्ने शारदा नदीमाथिको पक्की पुल सम्पन्न भएको छ। ठेकेदार कम्पनीको चरम लापरबाही र कोरोना महामारीले तोकेको समयभन्दा सात वर्षपछि पुल निर्माण सम्पन्न भएको हो। सातपटक म्याद थप गरेर शारदा नदीमा पुल निर्माण सम्पन्न गरिएको छ।
सडक डिभिजन कार्यालय दाङले पक्की पुल निर्माणका लागि ०७३ अन्तिममा ठेक्का आह्वान गरेको थियो। ७० मिटर लम्बाइ रहेको पक्की पुलका लागि उक्त कार्यालयले झन्डै सात करोड बजेट विनियोजन गरेको थियो। पुल निर्माणको कामको जिम्मेवारी एसबिए सूर्य जेभीले पाएको थियो। एसबिए सूर्य जेभीले ०७४ असार २१ देखि काम सुरु गरेको थियो।
०७६ असार २० गते सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले लापरबाही गरेको र विभिन्न किसिमका जटिलताले गर्दा सम्पन्न हुन ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी उज्ज्वलकुमार झाले बताए। उनका अनुसार लामो समय काम नगरेको ठेकेदारलाई कारबाही गर्दा तथा ठेक्का तोड्दा योजनाको काम अगाडि बढ्न नसक्ने, तत्काल नयाँ व्यवस्थापन गर्न गाह्रो हुने र सरकारी बजेटसमेत खेर जाने भएकाले नियमावली संशोधनसँगै योजनाको काम सम्पन्न गर्न पटकपटक म्याद थप गर्नुपरेको हो।
ठेकेदार कम्पनीले ०७६ असार २२ मा सम्पन्न गर्नुपर्नेमा ढिलै भए पनि पुलको काम सम्पन्न भएपछि राप्ती लोकमार्ग हुँदै छत्रेश्वरी गाउँपालिका ३ र ४ दारिमज्युला, झिम्पे, खर्सुवास जान स्थानीयलाई सहज भएको छ।