कांग्रेस-एमाले गठबन्धन आगामी ०८४ सम्म जान्छ : गृहमन्त्री लेखक

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले वर्तमान गठबन्धन अगामी ०८४ सम्मै जाने बताएका छन्। बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले वर्तमान गठबन्धन अगामी ०८४ सम्मै जाने बताएका हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन नटुट्ने दाबी गरेका छन्। ‘यो समीकरण अघि बढ्छ, ०८४ सम्मै हुन्छ,’ उनले भने, ‘तर दुई दलबिच भएको सहमतिअनुरूप नेतृत्व भने परिवर्तन हुन्छ ।’ 

गृहमन्त्री लेखकले संविधान सबै दलको सहमतिमा मात्रै संशोधन हुने बताए। सहकारी, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी सबै काण्ड कानुनअनुरूप अघि बढ्ने बताए । कञ्चनपुरको हुलाकी सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको बताउँदै मन्त्री लेखकले आफू भौतिक पूर्वाधारमन्त्री भएका वेला शिलान्यास गरे पनि हालसम्म निर्माणमा ढिलासुस्ती गरेकोमा चिन्ता व्यक्त गरेका छन्। 

देशकै चर्चित घटना निर्मला हत्याकाण्डबारे पत्रकारहरूले सोधेको जिज्ञासामा गृहमन्त्री लेखकले निर्मला हत्याकाण्ड सूक्ष्म ढंगले अघि बढिरहेको बताउँदै, थप गम्भीरताका साथ अघि बढ्ने बताए । ‘निर्मलाको न्यायिक आन्दोलनमा घाइते भएका सबै घाइतेका पक्षमा केही न केही निर्णय गर्छु,’ उनले भने, ‘यहाँबाट काठमाडौं फर्किएलगत्तै घाइतेको उपचारका लागि निर्णय गर्छु ।’

पत्रकारहरूले यसअघि निर्मलाको आन्दोलनमा आफैँ संघर्षका खटिनुभएको थियो ? अहिले निर्णय लिने ठाँउमा हुनुहुन्छ किन निर्मलाको विषयमा ध्यान नदिएको भन्दै प्रश्न गरेका थिए । कांग्रेससहितका अन्य राजनीतिक दलका नेता–कार्यकर्ताले विगतमा निर्मलाको न्यायका लागि भन्दै सडकदेखि संसदसम्म आवाज उठाउने रमेश लेखक गृहमन्त्री भएपछि अहिले चुपचाप बसेको भन्दै टीका–टिप्पणीसमेत गरिरहेका छन् । 

सुझावित समाचार