बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसंगठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन्।

सो संगठनका पदाधिकारीसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम चाल्न निर्देशन दिएका हुन्।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘बालमन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ। धनीपुर्जाविना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ।’

प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन एवं गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चित गर्न आग्रह गरे।

संगठनकी अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदर्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेकी थिइन्। हाल सो संगठनअन्तर्गतका आश्रयमा करिब तीन सय बालबालिका छन्। रासस

सुझावित समाचार