डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ। यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका– १ उदीपुरमा वर्षासँगै पहिरो जाँदा आज आइतबार बिहानदेखि सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएसँगै अहिले एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुंगामाटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए।

सडक एकतर्फी रुपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे। उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रूपमा मानिएको प्रहरीले जनाएको छ।

यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ। संघीय सरकारको करिब रु. ११ करोडमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भइनसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईंले बताए।

लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ–काठमाडौं–पोखरालगायत स्थानमा जाने र आउने गर्दछन्।

सुझावित समाचार