भिजी मोटर्स कम्पनीले चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ तथा एसआरएमका आठवटा नयाँ मोडेललाई नेपाली बजारमा भित्र्याएको छ । त्यस्तै, कम्पनीले एसआरएमबाट उत्पादित पाँचवटा विभिन्न प्रकारका गाडी पनि सार्वजनिक गरेको छ । यी पाँचवटा मोडेलमा टी–३ पिक अप र दुई सिटर कार्गो ढुवानी गर्ने भ्यान तथा पाँच सिटर र ११ सिटर भ्यान रहेका छन् ।
यी मोडेलहरूले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीको माग पूरा गर्ने कम्पनीको विश्वास छ । एसआरएम कम्पनीका महाप्रबन्धक ली ग्वाले साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखे तापनि एसआरएम कम्पनीबाट उत्पादन गरिने गाडी सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो हुने दाबी गरे ।
भिजी मोटर्सका सिइओ विवेक बिजुक्छेले अन्य निजी क्षेत्रले जस्तै आफ्नो कम्पनीले यस आर्थिक वर्षमा एक सय १० वटा चार्जिङ स्टेसन र नेपाल अधिराज्यभरि १८ वटा इलेक्ट्रिक गाडीको सर्भिस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको बताए ।