एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ : शेरधन राई

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको ‘मिसन ०८४’ एकल बहुमत ल्याउने अभियान रहेको बताएका छन्। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा पार्टीका कोशी प्रदेश इन्चार्ज राईले कुनै एक दलको बहुमत नहुँदा गठबन्धन गरेर बनाइएको अस्थिर सरकारले देशको विकास गर्न नसक्ने भएकाले एमालेले ‘मिसन ०८४’ अभियान चलाएर एकल बहुमत ल्याउने लक्ष्य राखेको बताएका हुन् । 

प्रेस चौतारी नेपाल ओखलढुंगाले बिहीबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले ०७९ को निर्वाचनमा सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्दा पनि पार्टीले समानुपातिकमा पहिलो र प्रत्यक्षमा समेत पहिलो दलकै हाराहारीमा चुनाव जितेको बताउँदै आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी पार्टीले योजनाबद्ध काम गरिरहेको बताए ।

आर्थिक मन्दी र राजनीतिक अस्थिरतामा फसेको मुलुकलाई पछिल्लो समय एमाले नेतृत्वमा बनेको सरकारले सहजतामा फर्काएको उनको भनाइ थियो । ‘यसअघिको निर्वाचनमा भएभरका सबै दल एकातिर उभिएर एमालेविरुद्ध गठबन्धन गर्दा पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो मत दिए । कोशी प्रदेशमा एक्लै सत्ता चलाउन जम्मा एक सिट पुगेन, प्रत्यक्षमा संघमा कांग्रेसभन्दा केही मात्रै कम सिट आयो । एमाले जनताको पार्टी हो, सबै दल मिल्दा पनि हराउन सक्दैनन् भन्नु पुष्टि भइसकेको छ,’ उनले भने । 

उनले भने, ‘केही समय एमाले प्रतिपक्षमा बस्दा देशमा अनेकन संकट आइपर्यो । आर्थिक मन्दीसँगै राजनीतिक अस्थिरता र अराजकता बढ्यो । अहिले एमालेले सरकारको नेतृत्व गरेको केही समयमै थुप्रै सुधारका संकेत देखिएका छन् । यसले देश बनाउने पार्टी एमाले हो भन्ने पुनः पुष्टि गर्दछ ।’ एमालेले बहुमत ल्याए मात्र देशमा राजनीतिक स्थायित्व र आर्थिक विकास हुन्छ भन्ने जनतामा भरोसा रहेकाले देश र जनतालाई निकास दिन आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीले काम गर्ने उनको भनाइ छ।

पार्टीलाई मजबुत र एकजुट बनाउन सबै तहका नेता–कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने भएकाले जिम्मेवारीअनुसार पार्टी काम गर्न नेता राईले निर्देशन दिए। 
 

सुझावित समाचार