फणीन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित राजीव गुरुङलाई मन्त्रीबाट हटाउनुपर्ने अडानबाट पछि हट्यो एमाले
गण्डकी प्रदेशमा मन्त्रालय टुक्र्याएर सातबाट नौ पुर्याउने कांग्रेस–एमालेबिच सहमति जुटेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारी काठमाडौं पुगेर छुट्टाछुट्टै रूपमा प्रधामन्त्रीलाई केपी ओलीलाई भेटेर फर्केपछि सहमति जुटेको हो । यसअघि नयाँ समीकरणअनुसार ओली प्रधानमन्त्री भएको झन्डै दुई महिनासम्म पनि गण्डकीमा एमाले बाहिरै थियो ।
अब एमाले चार मन्त्रालयसहित सरकारमा जाने भएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय लिएको छ । माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को मन्त्री पद कायमै रहने नेताहरूले बताएका छन् । एमाले सांसद भीमबहादुर कार्कीले पनि मन्त्रालयको संख्या नौवटा कायम हुने बताए । ‘कुन–कुन मन्त्रालय कता सार्ने भन्ने अब एक–दुई दिनमा टुंगो लागेपछि एमाले सरकारमा जान्छ,’ उनले भने ।
सात मन्त्रालय कायम रहेका वेला मुख्यमन्त्री पाण्डेले एमालेलाई दुई मन्त्री पठाउन भन्दै आएका थिए । तर, एमालेले कांग्रेसबराबर नै मन्त्रालय चाहिने र त्यसका लागि देवकोटा र गुरुङलाई मन्त्री पदबाट हटाउनुपर्ने अडान राख्दै आएको थियो । प्रदेश सभामा रहेको दोस्रो र तेस्रो ठूलो दल एमाले र माओवादीको समर्थनबेगर विश्वासको मत प्राप्त गरेका पाण्डे आफूलाई अप्ठ्यारो पर्दा साथ दिएका राप्रपासँगै सरकारमा रहेका देवकोटा र गुरुङको साथ कुनै पनि हालतमा नछाड्ने पक्षमा थिए ।
कोशीमा पनि मन्त्रालय टुक्र्याउन कांग्रेसको प्रस्ताव
कोशीमा सत्तासाझेदार दल कांग्रेसले मन्त्रालय टुक्र्याएर ११ पुर्याउन प्रस्ताव गरेको छ । यद्यपि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालसम्म सहमति जनाइसकेका छैनन् । कांग्रेसले पाँच मन्त्रालय पाउनुपर्ने अडान राख्दै सरकारमा गएको छैन । तर, गण्डकीमा एमालेलाई भित्र्याउन मन्त्रालय टुक्र्याउने सहमति गरेपछि अब कांग्रेसलाई पनि कोशीमा सोही रणनीति अंगीकार गर्न सहज हुनेछ भने मुख्यमन्त्री कार्की पनि केन्द्रको दबाबमा छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौवटा मन्त्रालय रहेको कोशीमा ११ पुर्याएमा कांग्रेसले पाँच पाउने सम्भावना छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आफूहरूले पाँचवटा मन्त्रालय दाबी गरेको र सोहीअनुसार पार्टी नेतृत्वलाई जानकारी गराइसकेको बताए । एमाले नेता कार्की २७ वैशाखमा माओवादीसँगको समीकरणबाट मुख्यमन्त्री बनेका थिए । एमाले र कांग्रेसको सत्तागठबन्धन बनेपछि कोशीमा ११ साउनमा माओवादी सरकारबाट बाहिरिएको थियो ।