एकीकृत समाजवादीकाे पदाधिकारी निर्वाचनमा भएकाे आचारसंहिता उल्लंघनबारे छानबिन हुने

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

महाधिवेशनको डेढ महिनापछि एकीकृत समाजवादीमा पदाधिकारी चयन गर्न भएको निर्वाचनमा आचारसंहिता उल्लंघनमाथि छानबिन गरिने भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा चुनावी नतिजा नै हेरफेर हुने गरी आचारसंहिता उल्लंघन गरिएको भन्दै विरोध गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा आचारसंहिताविपरीत काम भएको भन्दै छानबिन गरी कारबाही गर्न सदस्यहरूले माग गरेका थिए । अध्यक्ष नेपाललाई विवादमा ल्याउने र बदनाम गर्ने गरी मतदान प्रक्रिया प्रभावित गर्ने गरी गतिविधि भएकाले छानबिनको आवश्यकता परेको पोलिटब्युरो सदस्य उर्वादत्त पन्तले जानकारी दिए ।

‘पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा निर्वाचित उपाध्यक्ष र उपमहासचिवसहित नौजनाको समूह बनाएर निर्वाचन आयोगले जारी गरेको र केन्द्रीय कमिटीले अनुमोदन गरेको आचारसंहिताविपरीत अध्यक्षलाई विवादमा ल्याउने र बदनाम गर्ने गरी मतदान प्रक्रिया प्रभावित गर्न गम्भीर अपराध गरेकाले छानबिनको माग गरिएको हो,’ उनले भने, ‘अध्यक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ 

निर्वाचित उपाध्यक्ष गंगालाल तुलाधर, उपमहासचिव रामकुमार भट्टराईलगायत नौजनाले मतदान गर्नुपर्ने उम्मेदवारको लिस्ट बाँडेर निर्वाचनमा आचारसंहिताविपरीत गतिविधि भएको भन्दै केन्द्र्रीय सदस्यहरूले उजुरी गरेका छन् । निलम्बन गरेर छानबिन गर्नुपर्ने माग उनीहरूले गरेका छन् । छानबिन समितिमा महाधिवेशन हलबाट निर्वाचित अध्यक्ष, सम्मानित नेता र महासचिव तथा निर्विरोध निर्वाचित राजेन्द्र पाण्डे मात्र रहनुपर्ने माग उनीहरूको छ । 

बैठकमा उर्वादत्त पन्त, रामकुमारी झाँक्री, श्रीप्रसाद साह, देवसिंह मेहता, आलोक रायमाझी, भास्कर काफ्ले, शंकर भण्डारीलगायतले बोलेका थिए । निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले पनि आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका छन् । उनले व्यक्तिको नाम नबताए पनि आचारसंहिता उल्लंघनको घटनाबाट लज्जित भएको बताएका छन् । निर्वाचन आयोगले मतपरिणाम मात्र सुनाएको र समस्यासहित विस्तृत रिपोर्ट पछि पेस गर्ने पौडेलले बताए । ‘निर्वाचन आयोगका अध्यक्षले ‘लिस्ट हेरेर मतदान गर्दै गर्दा मैले आफैँ खोसेर ल्याएँ’ भन्नुभयो । एउटै व्यक्तिको सयौँ पोस्टर प्रचार गरेको पनि देखियो । त्यो पनि खोसेर ल्याएँ’ भन्नुभयो,’ एक केन्द्रीय सदस्यले भने, ‘आयोगले समस्याबारे विस्तृत रिपोर्ट पेस गर्ने बताउनुभएको छ ।’

निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्न आचारसंहिता जारी गरिएको थियो । आचारसंहितामा व्यक्तिगत रूपमा भोट माग्न पाइने, तर अरूका लागि भोट नमाग्ने, प्रचारबाजी नगर्ने, समूह बनाए जान नहुने, प्रचार सामग्री प्रयोग गर्न नपाउने उल्लेख थियो । तर, उम्मेदवारी दर्तादेखि मतदानको वेलासम्म लिस्ट बाँड्ने काम भएको नेताहरूले दाबी गरेका छन् ।

एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकतामाथि हुन सक्ने षड्यन्त्र र प्रहारप्रति सचेत हुँदै लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गरेको छ । बिहीबार बसेको महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकले साना दलको अस्तित्वमाथि आघात पु¥याउने, संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने कुचेष्ठाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरू प्रकट हुन थालेको जनाएको छ । 

बैठकले विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुला छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीबिच एकता हुने निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टी वाम एकताको पक्षमा सधंँ दृढतापूर्वक रहँदै आएको छ । त्यसैले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौँ,’ पारित प्रस्तावमा भनिएको छ । 

एकीकृत समाजवादीले निवर्तमान उपाध्यक्षहरू घनेन्द्र बस्नेत, डा. बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले बस्नेत, भुसाल र हमाललाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । तत्कालका लागि २४ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ । अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेतासहित पदाधिकारी रहेको स्थायी कमिटी गठन गरिएको हो । स्थायी कमिटीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी दिइएको छ ।

पोलिटब्युरोका १०५ सदस्य पनि निर्वाचनबाट निर्वाचित भएका छन् । बैठकले उपनिर्वाचनको आवश्यक तयारी गर्न कार्यदल गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल गठन गरिएको उपमहासचिव गरिमा शाहले जानकारी दिइन । उनका अनुसार कार्यदलमा उपाध्यक्ष, उपमहासचिव र सचिव छन् । 

एकता प्रक्रियाबाट आएका नेताहरू निराश
पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनबाट एकता प्रक्रियाबाट आएका नेताहरू निराश भएका छन् । साध्यबहादुर भण्डारी, भविश्वर पराजुलीलगायत एकता प्रक्रियाबाट आएकाहरू कसैले पनि पदाधिकारीमा जितेनन् । एकता प्रक्रियाबाट आएका २१ जना नेताले राजीनामा दिने चेतावनी दिएका छन् । तर, अध्यक्ष नेपालले सबैलाई उचित जिम्मेवारी दिने बताएका छन् । बैठकमा नेपालले निर्वाचनमा विकृति, विसंगति देखिएको बताए । नेपालले ‘आचरण र चरित्रमा विकृति आयो’ भन्दै गर्दा हलबाट ‘आचरणमा विचलित पदाधिकारी बनेका छन् के गर्नुहुन्छ’ भन्ने प्रश्न उठेको थियो । निर्वाचन आयोगको भूमिकाप्रति पनि नेताहरूले प्रश्न उठाएका छन् ।
 

सुझावित समाचार