नेपाल–तिब्बत युद्धस्थल बाह्र सय पल्टन डाँडालाई गढी बनाएर संरक्षण गर्न सरकारको ध्यानाकर्षण

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल–तिब्बतबिचको ऐतिहासिक युद्धस्थल १२ सय पल्टन डाँडा संरक्षण गर्न प्रतिनिधिसभाका सांसद ईश्वरी रिजालले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बिहीबार संसद् बैठकको शून्य समयमा सांसद रिजालले तत्कालीन राणा शासनका वेला नेपाल–तिब्बतबिच युद्ध भएको दोलखामा अवस्थित १२ सय पल्ट–थोपो डाँडालाई अहिलेसम्म संरक्षण नगरिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बिगु गाउँपालिकाको वडा न १, ३, ४ र ५ को संगमस्थलका रूपमा रहेको हिमाली भेगमा पर्ने सो डाँडालाई नालापानी, रसुवागढीजस्ता किल्ला गढीजस्तै नयाँ ऐतिहासिक गढीका रूपमा विकास गर्न माग गरे। ती वडाहरूमा साबिकका चिलंखा, लादुक, लामाबगर र बुलुङ गाविस पर्छन्।

पुरातात्विक महत्त्वको भिक्षुहरू उत्पादन शिक्षालयका रूपमा स्थापित नेपालकै चर्चित बिगु गुम्बा पनि सोही गाविसमा पर्छ। गुम्बाबाट करिब ५-७ किमि दूरीमा युद्धस्थल १२ सय पल्टन डाँडा पुगिन्छ। तर, डाँडामा पुग्न कच्ची सडकबाट ४-५ घण्टाको उकालो पैदलयात्रा छिचोल्नुपर्छ। धार्मिक पर्यटनको केन्द्र बनिरहेको दोलखाको कालिञ्चोक मन्दिरकै हाराहारी उचाइकोमा रहेको १२ सय पल्टन डाँडाबाट धुलिखेल, बनेपा, सगरमाथालगायत टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिन्छ।

‘विसं १९१२ मा नेपाल–भोट युद्ध दोलखाको बिगु गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ को संगमस्थल थोपो डाँडाबाट लडिएको थियो। त्यहाँबाट युद्ध लडिएको थियो भन्ने ऐतिहासिक तथ्य त्यस डाँडामा रहेको १२ सय ढुंगाका मानव आकृतिहरू ठड्याइएकाले पनि पुष्टि हुन्छ’ सांसद रिजालले भने, ‘नेपालीहरूले ढुंगाको आकृति ठड्याएर तिब्बतपट्टिका सेनाहरूलाई घेरा हाले र युद्धमोर्चा जित्न सफल भए। अहिले त्यस ऐतिहासिक ठाउँलाई संरक्षण गरिएको छैन। त्यसैले रसुवागढी, नालापानी, किल्लागढीजस्तै त्यो पनि नेपालको ऐतिहासिक एउटा गढी हो। त्यस ठाउँमा सरकार उपस्थित होस्, रक्षा मन्त्रालय उपस्थित होस्, अरू सम्बन्धित मन्त्रालयको ध्यान जाओस्।’

सुझावित समाचार