नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छेपारोभन्दा छिटो रङ फेर्न माहिर रहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले छेपारोले रंग फेर्न बरु समय लगाउला, तर प्रचण्डले त्योभन्दा छिटो रङ फेर्न सक्ने बताए। उनले एकपटक प्रचण्ड र छेपारोको रंग फेर्ने प्रतिस्पर्धा गराउनुपर्ने उल्लेख गरे।
मंगलबार प्रचण्डले संसदबाट सरकारलाई मार्गदर्शन गर्नुको सट्टा चुनौती र धम्की दिएको उनले आरोप लगाए। उनले प्रचण्ड धम्की दुनियाँ तताउनेबाहेक केही नभएको उल्लेख गरे। आफूलाई प्रतिकूल हुनेबित्तिकै विद्रोहको भाषा बोल्ने प्रचण्डको बानी पुरानै रहेको उल्लेख गरे।
उनले विद्युत् प्राधिकरणको दुई अर्ब उठाउन प्रचण्डले पत्र काटेको आरोप लगाउँदै २२ अर्ब नउठाउने प्रचण्ड नै हुन् भनेर दाबी गरे। होइन भने २२ अर्ब उठाउन कसले रोक्यो? उनको प्रश्न थियो।