है​​​​​​​जा महामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

हैजा महामारी नियन्त्रणका लागि संसद्ले सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपा सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी बनाउन’ दर्ता गरेको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्दै प्रतिनिधिसभाले सरकारको ध्यानकर्षण गराएको हो । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजा रोकथाम नियन्त्रणका लागि ध्यानाकर्षण प्रस्ताव सान्दर्भिक रहेको उल्लेख गर्दै नियन्त्रणका प्रयास भइरहेको जानकारी सदनलाई गराए । हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको उल्लेख गर्दै उनले सन् २०३० सम्म हैजा निर्मूल पार्ने सरकारको लक्ष्य सुनाए । खानेपानी अशुद्धता र सरसफाइमा ध्यान नदिँदाका कारण हैजा फैलिने गरेको भन्दै उनले प्रमुख कारण नै खानेपानीमा शुद्धता नहुनु भएकाले खानेपानी मन्त्रालयसँग सम्न्वय गरेर व्यापक रूपमा सुधार गरिने प्रतिबद्धता जनाए । 

ऐनले व्यवस्था गरेबमोजिम तीनवटै तहका जनप्रतिनिधि रहने विषयगत समितिको बैठक बसेर हैजा र डेंगुलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने गरी निर्णय गरेर अगाडि बढेको जानकारी पनि मन्त्री पौडेलले गराए । हैजा प्रभावित क्षेत्रको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायत क्रियाकलाप प्रभावकारी रूपमा तीनै तहका सरकारको समन्वयमा कार्य भइरहेको, काठमाडौं उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगुलगायत महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य गरिएको जानकारी दिए । वर्षायाममा देशभर हैजाको जोखिम रहे पनि नयाँ बिरामी नभएको, उपचाररत चारजना रहेको उल्लेख गर्दै मन्त्री पौडेलले हैजाकै कारण जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभएको बताए ।

रोल्पामा चारजनामा हैजा पुष्टि
रोल्पामा चारजनामा हैजा संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार रोल्पा नगरपालिकाको धवाङका चारजनामा हैजा पुष्टि भएको हो । संक्रमितको जिल्लामै उपचार भइरहेको जनाइएको छ । यस वर्ष देशभर हैजाबाट प्रभावितको संख्या ७१ पुगेको छ । यसअघि मकवानपुरमा एक, प्युठानमा दुई, ललितपुरमा ४७, काठमाडौंमा नौ र कैलालीमा आठ गरी ७१ जनामा संक्रमण देखिएको हो । तर, रोल्पामा देखिएका बिरामीबाहेक सबैजना निको भइसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सुझावित समाचार